
काठमाडौँ, नलसिङ्गाड जलविद्युत् आयोजना विकास समितिले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने परामर्शदाता छनोट प्रक्रिया नियम र कानुनको परिधिमा नै रहेर अगाडि बढेको स्पष्ट पारेको छ ।
परामर्शदाता छनोट प्रक्रिया पारदर्शी नभएको, अनाश्यक चलखेल भएको भन्दै संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतकर्ता केन्द्रलगायतमा उजुरी परेको र छानबिनसमेत भइरहेको भन्ने आशयका समाचार सार्वजनिक भएपछि समितिले एक विज्ञप्तिमार्फत विधि र प्रक्रियाअनुसार नै काम भएको जनाएको हो ।
सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार नै मूल्याङ्कन समिति गठन गरिएको, प्राप्त भएका प्रस्तावको प्रचलित नियमअनुसार नै हेरिएको र मूल्याङ्कनका आधारमा नै प्रस्ताव स्वीकृत गरिएको स्पष्ट पारेको हो ।
समितिका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरले परामर्शदाता छनोटका लागि आशयपत्र जारी भएपश्चात् मूल्याङ्कनमा चित्त नबुझे परामर्शदाताले सार्वजनिक खरिद ऐनअनुसार पुनरावलोकनमा जान सक्ने व्यवस्था रहेको जनाएको छ ।
पुनरावलोकन समितिमा निवेदन दर्ता नगरी मूल्याङ्कनलगायतका निर्णय प्रक्रियालाई अनुचित तवरले प्रभाव पार्ने प्रयत्न गरिएको कार्यकारी निर्देशक कुँवर बताउनुहुन्छ ।
विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्नका लागि एसएमइसी (स्मेक) र एफ कन्सल्ट छानिएका थिए । अन्तिम चरणमा स्मेकले रु एक अर्ब १९ करोड ९१ लाख ५६ हजार ८३२ ले प्रस्ताव गरेको थियो भने एफ कन्सल्टले रु ३३ करोड २५ लाख ९० हजार ५९९ कम रु ८६ लाख ६५ लाख ६६ हजार २३३ प्रस्ताव थियो ।
आयोजना विकास समितिले कम प्रस्ताव गरेको एफ कन्सल्टलाई नदिई स्मेकलाई दिने तयारी गरेको उजुरीमा उल्लेख गरिएको थियो ।
प्राविधिक मूल्याङ्कनमा स्मेकको प्रस्ताव नै प्रभावकारी रहेको पाइएको थियो । कम प्रस्ताव गरेको भए पनि एफ कन्सल्टले प्राविधिक प्रस्ताव कमजोर रहेको थियो ।
समितिले सबै काम नियमानुसार नै गर्ने उल्लेख गर्दै अनावश्यक हल्ला र प्रचारले काम नगर्नेसमेत स्पष्ट पारेको छ । जाजरकोटमा आयोजनास्थल रहेको सो आयोजनाको क्षमता ४१० मेगावाट रहेको छ । रासस