
काठमाडौँ- शाही युवा शक्ति नेपालले आगामी जेठ १५ गते भित्रमा राजतन्त्र पुनःस्थापित गर्ने लक्ष्यसहित आन्दोलनको घोषणा गरेको छ ।
राजावादी युवाहरुको संगठन शाही यूवा शक्ति नेपालले भोलिदेखि सडक आन्दोलन चर्काउने घोषणा गरेको हो ।
बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर संस्थाले हतियार उठाएर अब राजतन्त्र पुनःस्थापनाका लागि राजधानी केन्द्रीत सडक संघर्षको घोषणा गरेको हो । नेपालले आगामी जेठ १५ गते भित्रमा राजतन्त्र पुनर्स्थापित गर्ने लक्ष्यसहित आन्दोलनको घोषणा गरेको बताएको हो ।
जसको सुरुवात आगामी चैत्र १२ गते राजधानीमा गणतन्त्रविरुद्ध र राजतन्त्र पुनर्बहालीको पक्षमा विरोधसभा गरेर हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष पशुपति खड्काले विदेशीले लादेको गणतन्त्रलाई कुनै पनि हालतमा विस्थापित गरि नेपाली माटो सुहाउँदो राजसस्थाको पुनर्स्थापनाका लागि बलिदान दिन तयार रहेको बताउँदै आवश्यक परे हतियार उठाउने घोषणा गरे ।
उनले भने ‘जनआन्दोलनको एजेण्डा अर्कै थियो । जवरजस्ती जनभावनाविपरित गणतन्त्र ल्याइयो । यसले एउटा द्धन्दको अन्त्यको नाममा अर्को द्वन्द्वको बीउ रोपेको छ’, उनले थपे, ‘नेपालको माटो सुहाउँदो ब्यवस्था भनेको राजासहितको प्रजातन्त्र हो । त्यसलाई फर्काउन हामी जस्तोसुकै बलिदान दिन तयार छौँ ।’
संस्थाका महासचिव कृष्ण थापाले चैत्र १२ गतेको विरोधसभापछि जेठ १५ भित्र राजतन्त्र पुनर्स्थापना गर्ने गरी जनमत तयार गर्न राजधानी केन्द्रीत कार्यक्रमलाई तीब्रता दिन लागेको जानकारी दिए । उनले राजतन्त्रलाई पाखा लगाएर निर्माण गरिएको संविधान कार्यान्वयन हुनै नसक्ने ठोकुवा समेत गरे ।