
ललितपुर, राष्ट्रिय योजना आयोगका सदस्य डा सुमित्रा अमात्यले भूकम्पपछि पुनर्निर्माण कार्यका लागि पुनर्निर्माण प्राधिकरण गठन भएर काम सुरु भएको बताउनुभएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा आज यहाँ आयोजित एकदिने भूकम्पपछिको बसोबास योजना सम्मेलनको उद्घाटन गर्दै उहाँले भूकम्पपीडितको मन जित्ने गरी प्रभावकारी ढङ्गले प्राधिकरणले काम गरिनुपर्नेमा जोड दिनुभयो ।
‘एक सहर एक पहिचान’ लागू हुने योजनाका साथ पुनर्निर्माणमा लाग्न सकेमा दिगो विकास हुन सक्ने उहाँले धारणा राख्नु भयो । “योजना बनाउने मात्र होइन कार्यान्वयन पनि उत्तिकै आवश्यक छ”–उहाँले भन्नुभयो ।
नास्टका उपकुलपति प्राडा जीवराज पोखरेलले विज्ञान प्रविधि विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थासँग सहकार्य गरी काम गरिरहेको बताउनुभयो । उहाँले भूकम्पपछि पीडितले भोगेका समस्या समाधान र पुनर्वासका लागि तत्काल सबै पक्षबाट सहयोग गरिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भूकम्प प्रतिरोधात्मक घरको नक्साङ्कनबारे व्यापक प्रचारमा आए पनि ठोस योजना कस्तो हो भन्ने बुझाउन आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा डा भक्तनन्द बज्राचार्यद्वारा लिखित ‘काठमाडौं आर्किटेक्चर एन्ड इनभाइरोमेन्ट’ नामक पुस्तक आयोगका सदस्य डा अमात्यले लोकार्पण गर्नुभएको थियो । रासस