११ चैत्र २०७२, बिहीबार

काठमाडौँ, नेपाल पञ्चाङ्ग निर्णायक समितिले नववर्ष विसं २०७३ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ ।

Paryatan-Mantralaya
नयाँ वर्षका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पञ्चाङ्गमा तोयनाथको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि गरी १३ पात्रो (पञ्चाङ्ग) रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

“समितिको निर्णयअघि नै केही व्यक्तिले व्यक्तिगत रुपमा शास्त्रीय मान्यता विपरीत पात्रो (पञ्चाङ्ग) निकालेर भ्रम सिर्जना गरेका छन्, यसको जानकारी गृह मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई गराइएको छ”–अध्यक्ष गौतमले भन्नुभयो ।

समितिको स्वीकृति नलिई निस्किएका ज्वालालगायतका पात्रोमा सम्बत्सरको नाम, वृहस्पति एवम् शुक्रको उदय र अस्त, व्रतबन्ध र विवाहको साइतलगायत तिथि, मिति तथा चाडबाडमा फरक परेको समितिले जनाएको छ । समितिको स्वीकृति अघि निकालिएका पात्रोले जनता भ्रममा पर्न थालेको गुनासो आउन थालेको सदस्य–सचिव सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो ।

“समितिको स्वीकृतिबिना निस्किएका पात्रोका कारण चाडबाड एवम् तिथिमितिमा फरक परेमा हामी जिम्मेवार हुने छैनौँ, यसैले सरकारको आधिकारिक निकायले शास्त्रीय आधारमा निर्णय गरेको पात्रो प्रयोग गरी भ्रमबाट मुक्त हुन अनुरोध गछौँ” – उहाँले भन्नुभयो ।

समितिको स्वीकृतिबिना निस्किएका पात्रोले सरकारले सार्वजनिक बिदाको घोषणा गर्नुअघि नै रातो लगाई भित्तेपात्रो (क्यालेन्डर) निकालेरसमेत भ्रममा राखेको व्यहोरासहितको पत्र गृह र संस्कृति मन्त्रालयमा कारबाहीका लागि पठाइएको छ ।

पात्रोलाई समितिले स्वीकृति दिएको मितिसम्म गृह मन्त्रालयले सार्वजनिक बिदाको निर्णय नगरेकाले बिदा जानकारी राख्न नसकिएको समितिको भनाइ छ । पात्रोअनुसार नै सांस्कृतिक एवम् धार्मिक चाड पर्व मनाउने गरिन्छ । रासस

 

LIVE TV