
जिरी, दोलखाको जिरीबाट रामेछापको रस्नालुतर्फ जेसिबी स्काभेटर बोकेर जाँदै गरेको ना४ख ३६७ नंको टेलर जिरी नगरपालिका वडा नं ४ कुने भन्ने स्थानमा दुर्घटना हुँदा तीनदिनदेखि जिरी शिवालय सडकखण्ड बन्द भएको छ ।
चैत ९ गते दिउँसो जिरी बजारबाट रस्नालुका लागि छुटेको टेलर सडकमा एक्कासि पल्टिएको होे ।
जिरी बसपार्कबाट झन्डै तीन किमी टाढा पुग्नासाथ जिरी निर्माण समितिको बा२क ९८२ नंको जेसिबी बोकेर जाँदै गरेको टेलर सडकमा पल्टिएको थियो । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
अहिले जिरीबाट रामेछापको शिवालय, गर्जङ देउराली, बाम्तीभण्डार, प्रिती, रस्नाललगायतका ठाउँमा सडक सम्पर्क टुटेको छ । यद्यपि यात्रुबाहक बस भने वैकल्पिक बाटोको प्रयोग गरी मन्थली हुँदै सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय जिरीले बताएको छ । रासस