
म्याग्दी, म्याग्दीको मुदी गाविसमा अवस्थित धौलागिरि हिमालको आधार शिविर (बेस क्याम्प) पुग्ने नयाँ पदमार्गको खोजी गरिएको छ ।
म्याग्दी उद्योग वाणिज्य सङ्घको पहलमा जिविस म्याग्दी, नेपाल पर्यटन बोर्ड, टान, हिमालयन म्याप हाउस, भिटोफ र मोनाको सहयोगमा राहुघाट क्षेत्रका बस्तीलाई समेटेर तयार भएको उक्त पदमार्गको अध्ययन अवलोकन तथा खोज गरिएको हो ।
पत्रकार, टे«किङ गाइड, नक्साङ्कन गर्ने प्राविधिक लगायतको १३ जनाको टोलीले धौलागिरि हिमालको कुइनेमङ्गले गाविसमा पर्ने आधार शिविर पुग्ने नयाँ पदमार्गको खोजी गरी हालै फर्किएको छ । राहुघाट क्षेत्रका पर्यटकीय बस्तीलाई समेटेर पहिचान गरिएको पदमार्गको ‘धौलागिरि स्याङचुरी पदमार्ग’ नामकरण गरिएको छ ।
सुन्दर हिमशृङ्खलाको दृश्यावलोकन, जङ्गली जनावर, चराचुरुङ्गी, रङ्गीविरङ्गी गुराँसे जङ्गल, विभिन्न प्रजातिका फूल, ग्रामीण जीवनशैली, मगर तथा छन्त्याल संस्कृति र मनोरम प्राकृतिक वातावरणमा रमाउन पाउनु धौलागिरि स्याङचुरी पदमार्गको प्रमुख विशेषता हो ।
बेनीबाट सुरु हुने धौलागिरि स्याङचुरी पदमार्गको सुरुवाती गाउँ झीँलाई मानिएको छ । झीँबाट सुरु भएको पदमार्गको यात्रा झन्डै एक सातासम्म रहने पदमार्गको अध्ययनका लागि बेस क्याम्प पुगेका हिमालय म्याप हाउसका अध्यक्ष पवन शाक्यले बताउनुभयो । “यो पदमार्ग एकदमै सम्भावनायुक्त छ, विदेशी पर्यटकले नयाँ स्थानको खोजी गरिरहेको बेलामा यो रुटलाई निकै महत्वका साथ हेरिएको छ”, उहाँले भन्नुभयो ।
धौलागिरि स्याङचुरी पदमार्गको अन्वेषणअन्तर्गत पहिलो चरणमा नक्साङ्कन गरिएको छ । त्यसपश्चात् भौतिक पूर्वाधार निर्माण गर्ने, सूचनामूलक सङ्केत बोर्ड राख्ने, स्थानीयवासीलाई तालिम प्रदान गरेपश्चात् पदमार्गको शुभारम्भ गरिने म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले जानकारी दिनुभयो ।
रघुगङ्गाको किनारैकिनार यो पदमार्ग भएकाले पदयात्रीलाई यात्राको फरक अनुभूतिसमेत हुनेछ । बाटोमा जाँदै गर्दा कालीबराह, दुबुकी लगायतका पिक हिमालसमेत देख्न सकिन्छ । पदमार्गको विकासका लागि स्थानीयवासीसमेत निकै उत्साहित देखिएका छन् । घ्यासीखर्कका युवा अइमान छन्त्यालले यो पदमार्ग जसरी पनि चाँडोभन्दा चाँडै खुलाउन आवश्यक रहेको भन्दै स्थानीयवासीका तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो ।
यो पदमार्ग तत्काललाई क्याम्पिङ गर्न चाहने पर्यटकका लागि उपयुक्त रहेको छ । बेनीबाट सुरु भएको यात्राको झीँमा पहिलो दिनको बसाइ हुनेछ । झीँँबाट कोटगाउँ, घ्यासीखर्क हुँदै बेसक्याम्पस पुगेपछि पुनः घ्यासीखर्क चिमखोला–दर्मिजा–दग्नाम–मौवाफाँट–पवित्र धार्मिकस्थल गलेश्वर हुँदै बेनी आएर पदयात्रा पूरा हुन्छ । रासस