
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीसँग बौद्ध धर्मगुरु, खेन्पो, भिक्षु, भिक्षुणी र आनीहरुले आज अपराह्न राष्ट्रपति कार्यालयमा सामूहिक शिष्टाचार भेट गर्नुभयो ।
बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिबाट बौद्ध तीर्थस्थलको भ्रमणमा रहनुभएका उहाँहरुले राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभएको हो । त्यस अवसरमा बौद्ध धर्म तथा बौद्ध दर्शन, शान्ति र अहिंसा अभियानका साथै त्यसमा बौद्ध गुरु (लामा), भिक्षु तथा आनीहरुको भूमिकाका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
भेटमा गुम्बा विकास समितिबाट भइरहेका भ्रमण, त्यसका उद्देश्य एवम् गतिविधिबारे पनि छलफल भएको थियो । विगत ४० वर्षदेखि हरेक वर्ष हुँदै आएको बौद्ध तीर्थस्थलहरुको भ्रमण र त्यस क्रममा राष्ट्राध्यक्षसँग प्रत्येक वर्ष शिष्टाचार भेट गर्ने परम्परा छ ।
भेटका क्रममा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका अध्यक्ष कर्मा छिरिङ टासी लामाले राष्ट्रपतिसमक्ष थाङ्का उपहार र मागपत्र प्रस्तुत गर्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालले बताउनुभयो ।
प्रवक्ता ढकालका अनुसार राष्ट्रपतिले बौद्ध दर्शनका शिक्षालाई व्यवहारोपयोगी बनाउनुपर्नेमा जोड दिँदै तबमात्र सही यात्राको प्रारम्भ हुने बताउनुभयो
भेटमा आनी निश्चल पाख्रिनले यात्रा अनुभूति सुनाउनुभएको थियो । रासस