१० चैत्र २०७२, बुधबार

काठमाडौँ-  नेपाल नागरिक उडड्यन प्राधिकरणले विज्ञप्ती जारी गर्दै विज्ञापन मार्फत प्रधानमन्त्री ओलीलाई चीन भ्रमणमा लैजाने हिमालयन एयरलाइन्सको बचाउ गरेको छ । विभिन्न सञ्चार माध्यममा आएका विवादास्पद कुरालाई झुटो सावित गर्न नागरिक उड्डयन प्राधिकरणले विज्ञापनको शैलीमा विज्ञप्ती जारी गरेको हो ।

himalaya

यो … प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जाने क्रममा प्रयोग भएको विमान हो । यो विमान जसले प्रुभीङ्ग उडानको अनुमति नै पाएको छैन । तर, पनि यस विमानमा आफ्नो जम्बो टोली लिएर प्रधानमन्त्री चीन भ्रमणमा निक्लिनु भयो । भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाली वायु सेवा निगमको विमानमा नचढेर हिमालयन एयरलाइन्सको विमान चार्टड गरिएपछि सर्वत्र विरोध भएको छ ।

त्यति मात्र नभएर प्रधानमन्त्री र हिमालयन एयरलाइन्सको सम्बन्धको बारेमा पनि निकै चर्चा चल्यो । सञ्चार माध्यममा हिमालयन एयरलाइन्सलाई लिएर निकै नै विवादास्पद कुरा आउन थालेपछि बुधबार विभिन्न पत्रिकामा विज्ञापन जसरी छापिएको नेपाल नागरिक उडडयन प्राधिकरणको विज्ञप्तीमा भने हिमालयन एयरलाइन्सलाई बचाउ गर्न खोजिएको देखिएको छ । विज्ञप्तीका अनुसार हिमालय एयरलाइन्सले गत फागुन २६ गते विमान काठमाडौं अवतरण गराएकोे दुई दिनपछि परीक्षण उडान गरेको जनाएको छ । तर, हिमालय एयरलाइन्सले आफ्नो विमानको परीक्षण उडान भएको विषयमा अहिलेसम्म कुनै विज्ञप्ती निकालेको छैन ।

आर्थिक वर्ष २०७१–०७२ को सरकारको नीति तथा कार्यक्रममा सरकारी कर्मचारी, मन्त्री, प्रधानमन्त्री भ्रमणमा जाँदा सम्भव भएसम्म राष्ट्रिय ध्वजाबहाक जहाज प्रयोग गर्ने भन्ने उल्लेख भएपनि प्रधानमन्त्री ओलीले संभव हुँदाहुँदै त्यसको उल्लंघन गर्नुभएको छ । देशको प्रधानमन्त्री जस्तो हैसियत बोकेका व्यक्तिको कार्यलाई सबै राजनीतिक दलले चियोचर्चाको विषय बनाइरहँदा प्राधिकरणले जारी गरेको विज्ञप्तीले पनि हिमालयन एयरलाईन्सलाई बचाउ गर्न खोज्नुले झन गल्तीलाई प्रमाणित गर्न खोजेको देखिन्छ ।

 

 

LIVE TV