
प्रधानमन्त्री ओलीको चीन भ्रमण नेपालको हीतमा रहेको उपप्रधानमन्त्री भीम रावलको भनाई, चीनसंगको नेपालको सम्झौताप्रति भारत पनि खुशी भएको दावी
काठमाडौँ- उपप्रधान तथा रक्षामन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको भ्रमण नेपालको हितमा रहेको दावी गर्नुभएको छ । अहिलेसम्म भारतीय भूमिबाट मात्रै तेस्रो देशसँगको ब्यापार हुने गरेकोमा अहिलेको सम्झौताले चीनको भूमिबाट समेत तेस्रो मुलुकसँगको ब्यापार गर्न पाउने ब्यवस्था भएकोले यसले मुलुकमा दिर्घकालिन रुपमा फाईदा पुग्ने उहाँको विश्वास छ ।
काठमाण्डौमा आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री रावलले नेपालले ईन्धन सम्झौता गर्न नेपाल र चीन दुबै पक्ष सहमत भएपनि तेलको मुल्य, ढुवानी, कर लगायतका प्राविधिक कारणले मात्रै चीनसँग ईन्धन सम्झौता हुन नसकेको जानकारी दिनुभयो । उहाँले छिमेकीहरुसँग पारस्परिक हित, लाभ र समानतामा आधारित रहेर सम्बन्धलाई अझै फराकिलो र गहिरो बनाउन लागि परेको र चीनसँग भएको सम्झौताले नेपालको आर्थिक विकास र दुई मुलुकको सम्बन्धलाई अझै प्रगाढ बनाउने उहाँले बताउनुभयो ।
उपप्रधान तथा रक्षा मन्त्री रावलले नेपाल र चीनवीच भएको १० बुँदे सम्झौताले भारत पनि खुसी भएको दावी गर्नुभयो । उहाँले चीनसँग भएको सम्झौता कार्यान्वयनमा आशंका नगर्न र त्यसको लागि सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री रावलले प्रधानमन्त्रीको भ्रमणको एजेण्डा सार्वजनिक भएपछि मधेसी मोर्चासहितका दलहरुले चिनियाँ राजदुतलाई ज्ञापन पत्र बुझाउनु राष्ट्र हित र स्वार्थ विपरित काम भएको आरोप पनि लगाउनुभयो ।