१० चैत्र २०७२, बुधबार

१४ थान गोलीसहित पक्राउ परेका ल्हारक्याल लामा रिहा, बैदेशिक रोजगार विभागमा तीस लाख रुपैया धरौटी बुझाएर लामा छुटे

larkyal-lama-1

काठमाडौँ-  एकीकृत नेकपा माओवादीका निलम्बित सांसद ल्हारक्याल लामा ३० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । लामाले बैदेशिक रोजगार अन्तर्गतको ठगी मुद्दामा ३० लाख रुपैयाँ बुझाउँदै बुधबार अपरान्ह  रिहा भएका हुन् ।

लामालाई वैदेशिक रोजगार विभागको आर्थिक महाशाखाले ठगी मुद्दामा ३० लाख रुपैया धरौटी मागेको थियो । बैंकको लकरमा गोली भेटिएपछि पक्राउ परेका लामा प्रशासनको आदेशमा धरौटी तिरेर छुटे लगत्तै सोमबार पुन पक्राउ परेका थिए । महानगरीय प्रहरी परिसरले वैदेशिक रोजगारीको ठगी मुद्दामा मुछिएका लामालाई कारबाहीका लागि सोमबारै वैदेशिक रोजगार विभागलाई बुझाएको थियो । अख्तियारबाट अवैध सम्पत्ति कमाएको अभियोगमा छानबिन गर्ने क्रममा नेपाल इन्भेष्मेन्ट बैंकको दरवारमार्गस्थित शाखामा रहेको लकरबाट १४ थान गोली बरामद भएपछि उनी पक्राउ परेका थिए । अवैध गोली राखेको घटनामा हतियार खरखजना मुद्दा चलाइएका उनी प्रशासनले सोमबार ६६ हजार ७ सय ५० रुपैयाँ धरौटी लिएर छाडेलगत्तै वैदेशिक रोजगारीमा ठगीसम्बन्धी अर्को मुद्दामा प्रहरी हिरासतमा पुगेका थिए ।

अख्तियारको टोलीले गत फागुन ३० गते लामालाई बैंकको लकर खोलेर हेर्नका लागि बैंकमा बोलाएको थियो । सुनचाँदी राखिने लकरमा गोली भेटिएपछि सांसद् लामालाई प्रहरीले पक्राउ गरेको थियो ।

 

LIVE TV