
काठमाडौँ- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् कार्यवाहक प्रधानमन्त्री विजय गच्छेदारले संविधान कार्यान्वयनका लागि प्रमुख दलहरुबीच सहकार्य आवश्यक रहेको बताउँनुभएको छ ।
उहाँले सहमतिको सरकार बन्न नसक्ने स्थितिमा प्रमुख दल कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्दै संविधान कार्यान्वयनमा सघाउनुपर्ने धारणा राख्नुभएको छ ।
बुधवार विराटनगरमा संचारकर्मीहरुसंगको भेटघाटमा कार्यवाहक प्रधानमन्त्री गच्छेदारले संविधान कार्यान्वयनका लागि प्रमुख राजनैतिक दलहरुबीच तीन वर्षसम्मका लागि सहमति र सहकार्य आवश्यक भएको बताउनुभएको हो । उहाँले लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार नेपाली कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्दै संविधान कार्यान्वयनमा सघाउनु पर्ने बताउनुभयो ।
कार्यवाहक प्रधानमन्त्री गच्छेदारले अहिलेको सरकार ढल्ने सम्भावना नरहेको जिकिर गर्दै आलोपालो नेतृत्वका लागि वार्ता र छलफल गर्न आफूहरु तयार रहेको जानकारी दिनुभयो ।
उहाँले संविधान कुनै पनि हालतमा खारेज नहुने स्थितिमा मधेसवादी दलहरुले संविधानको सीमा भित्रै रहेर वार्ता र सम्वाद मार्फत समस्याहरु टुङ्ग्याउनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले आन्दोलन र विरोधका नाममा जनतालाई दुख हुने कार्य नगर्न मधेसवादी दलहरुलाई आग्रह समेत गर्नुभयो ।