१० चैत्र २०७२, बुधबार

काठमाडौँ-  प्रवासी नेपाली मन्च यूएईले रातोपाटी अनलाइनमा प्रकाशित समाचारमा मन्चको नाम जोडेर प्रकाशित भएको समाचारलाई भ्रामक भन्दै खण्डन गरेको छ ।

PRBASI

मन्चका महासचिव उत्तम अधिकारीले एक बिज्ञप्ति जारी गर्दै आजै प्रकाशित “साँस्कृतिक कार्यक्रमको नाममा मानव तस्करी, नेपालबाट यसरी दुबई पुगे ६ युवती” शिर्षक समाचारको भर्तसना गरेका हुन् । समाचारमा गत फेब्रुअरी महिनामा क्रिएटिभ युथले दुबईमा आयोजना गरेको एक सांस्कृतिक कार्यक्रममा मोटो रकम लिएर कलाकारको नाउमा यूएई ल्याएको र उक्त आयोजक संस्था एमाले निकट प्रवासी नेपाली मन्च आबद्ध रहेको उल्लेख छ ।

मन्चले यसमा खण्डन गर्दै उक्त कार्यक्रम आयोजक संस्था “क्रिएटिभ युथ” संग प्रवासी नेपाली मन्च यूएईको कुनै पनि किसिमको सम्बन्ध नरहेको स्पष्ट परेको हो । त्यसैगरी समाचारमा उक्त कार्यक्रमलाई मन्च मातहतको प्रवासी नेपाली युवा संघ यूएईले प्रायोजन गरेको भनिएकोमा समेत मन्चले आपत्ति जनाएको छ । यसको खण्डन गर्दै बिज्ञप्तिमा भनिएको छ “समाचारमा उल्लेख भए अनुसार मन्च मातहत रहेको प्रवासी नेपाली यूवा संघले उक्त कार्यक्रमको प्रायोजन गरेको भन्ने कुरा सरासर झुठ र भ्रमपूर्ण रहेको सबैमा जानकारी गराउदछौं । मन्च मातहत रहेको प्रवासी नेपाली यूवा संघ एक सामाजिक संगठन भएकाले कुनैपनि किसिमको प्रायोजन गर्ने ब्याबशायिक प्रकृतिको संस्था नभएको सबैसामु छर्लंग छ” ।

बिज्ञप्तिमा “मन्चसंग कुनै सरोकारै नराख्ने संस्थाले आयोजना गरेको कार्यक्रमलाई मन्चसंग जोडेर प्रचार गरिनुलाई हामीले मन्च बिरुद्धको नियोजित षड्यन्त्रका रुपमा बुझेका छौं” भनिएको छ । मानवतस्करी जस्तो अत्यन्तै संबेदनशील र गम्भीर बिषय सार्वजनिक बहसमा आएकाले यस बिषयमा छानबिन गरि सत्यतथ्य बाहिर ल्याउन मन्चले नेपाली दुतावास समक्ष अनुरोध समेत गरेको छ । गलत नियतले नेपाली महिलालाई यूएई ल्याउने गरेको भएमा जस्तोसुकै व्यक्ति भएपनि त्यसलाई कारवाहीको लागि मन्चको सहयोग रहने बिज्ञप्तिमा जनाईएको छ ।

LIVE TV