१० चैत्र २०७२, बुधबार

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले ‘सक्षम बालिका : समृद्ध नेपाल’ नाराका साथ सुरु भएको नेपाल बालिका सम्मेलन २०७२ को उद्घाटन गर्नुभएको छ ।

बेलायत सरकार, संयुक्त राष्ट्रसङ्घीय बालकोष तथा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको आर्थिक तथा प्राविधिक सहयोगमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले पहिलोपटक सो सम्मेलन आयोजना गरेको हो । बेलायतमा सन् २०१४ मा सो सम्मेलन गरिएको थियो ।

बालविवाह अन्त्यका लागि आगामी दिनमा अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल गर्न आयोजित सो सम्मेलनमा सरकारका विभिन्न मन्त्रालयका उच्च अधिकृत, दातृ निकायका प्रतिनिधि तथा कालिकोट, बैतडी, बाँके, बर्दिया, बझाङ, नवलपरासीलगायतका १५ जिल्लाका ५९ बालबालिका सहभागी छन् ।

तीन दिनदेखि जारी सो सम्मेलनमा बालविवाह अन्त्यका लागि नीति र कानुन कार्यान्वयन, सामाजिक कुरीति र अभ्यासको परिवर्तन, किशोरकिशोरी तथा युवाको आवाज ः किशोरकिशोरी तथा युवाको गरेको अभियान, किशोर र किशोरीसँग र उनीहरुका लागि नै कार्यशाला विषयक अलगअलग सत्रसमेत सञ्चालन भएका छन् ।

विश्वको प्रमुख सामाजिक समस्याका रुपमा रहेको बाल विवाहलाई सन् २०३० सम्ममा अन्त्य गर्ने विश्वव्यापी प्रतिबद्धतामा नेपालले समेत प्रतिबद्धता जनाएको छ । यसका लागि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले रणनीतिसमेत तयार गरी कार्यान्वयनमा ल्याएको छ ।

अठार वर्षमुनिका बालबालिका शारीरिक तथा मानसिकरुपमा आमा तथा श्रीमती बन्न तयार नहुने भएपनि १५ वर्षदेखि २४ उमेर समूहका १० मध्ये दुईजना महिलाको विवाह १५ वर्ष नपुग्दै हुने गर्दछ । यसैगरी २० देखि ४९ उमेर समूहका १० महिलामध्ये पाँच जनाको विवाह १८ वर्ष नपुग्दै हुने गर्दछ । नेपालको पछिल्लो कानुनले न्यूनतम उमेर महिला र पुरुषका दुवैको लागि २० वर्ष निर्धारण गरेको छ ।

बालविवाह अन्त्य गर्न शिक्षामा जोड दिनुपर्छ : राजकुमार ह्यारी 

नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारीले सम्मेलनलाई सम्बोधन गर्दै नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी, अमेरिकी प्रथम महिला मिचेल ओवामा र बाल शिक्षा अभियानकर्ता मलला युसुफ विश्वका अनुकरणीय महिला व्यक्तित्व भएको बताउनुभयो ।

“तल्लोस्तरबाटै परिवर्तन हुन आवश्यक छ, प्रत्येक परिवार तथा समुदायमा रहिआएको महिला तथा बालिकाप्रति पूर्वाग्रह परिवर्तन नभएसम्म उनीहरुको अवसरको ढोका खुल्दैन” अमेरिकी प्रथम महिला ओबामाको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो ।

राजकुमार ह्यारीले आम बालिकाले भोग्दै आएको चुनौतीका सम्बन्धमा प्रकाश पार्दै विश्वमा छ करोड २० बालिका शिक्षाबाट वञ्चित हुनुपरेको, ८० करोड महिलाले पढ्न र लेख्न नसक्ने, ७० करोडको बालविवाह हुने गरेको र तीमध्ये २५ करोड बालिकाको १५ वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा पनि कम उमेरमा विवाह हुने अवस्थालाई अन्त्य गर्न र २० वर्षभन्दा कम उमेरमा नै बालबच्चा जन्माउने अवस्थालाई अन्त्य गर्न शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

सानै उमेरमा विवाह हुँदा उनीहरुले विद्यालयको शिक्षा नपाउने, उनीहरुको शैक्षिक चक्र समाप्त हुने र गरिबी, कमजोर स्वास्थ्य र निरीह बन्नुपर्ने भएकाले यसको अन्त्य गर्न शिक्षाबाट मात्र सम्भव रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “शैक्षिक पहुँचमा सुधारले मात्र जीवन, परिवार, समुदाय एवम् समग्र देशको परिवर्तन हुन्छ । जब बालिकाले विद्यालयको शिक्षा पाउँदछिन्, अनि मात्र सीप, ज्ञान र आत्मविश्वास प्राप्त गर्छन् । उनीहरुले जीवन तथा अन्य जनजीवन परिवर्तन गर्न सक्दछन् ।”

राजकुमार ह्यारीले भन्नुभयो “मलाई के विश्वास छ भने हरेक मुलुक तथा नेपालले आफ्नै जटिल सामाजिक चुनौतीको बाटो खोज्नै पर्छ । तर सरकारले बालविवाहलाई अन्य गर्नका लागि सङ्घर्ष गरिराखेको छ र सन् २०३० सम्मा बालविवाहको अन्त्य गर्नेछ । यसका लागि पछिल्लो दशकमा १० प्रतिशतमा झार्नका लागि आजैदेखि कानुन बनाएर बालविवाह रोक्नैपर्छ । त्यसकारण अब कानुनको कार्यान्वन तथा शिक्षामा केन्द्रित हुनुपर्छ ।”

नेपालका राष्ट्रपति तथा सभामुख दुवै महिला भएकाले आगामी दिनमा बाल बालिकाका लागि महत्वपूर्ण प्रेरणा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । आफूले दक्षिण अफ्रिकी बालबालिकालाई सहयोग गरेको स्मरण राजकुमार ह्यारीले गर्नुभयो ।

बाल विवाह अन्त्य गर्न रणनीति कार्यान्वन भइराखेको छ ः उपप्रधानमन्त्री मैनाली

उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री चन्द्रप्रकाश मैनालीले सन् २०३० सम्ममा बालविवाह अन्त्यका लागि नेपाल सरकारले रणनीति तयार गरी कार्यान्वयनमा ल्याएको र यसले समाजमा सकारात्मक परिर्वतन ल्याइरहेको बताउनुभयो ।

उहाँले महिला र पुरुषबीचको विभेद अन्त्यका लागि सामूहिक प्रयत्नको खाँचो आँैल्याउनुभयो । उपप्रधानमन्त्री मैनालीले नेपाल र बेलायतबीचका दौंत्य सम्बन्ध भएको २०० वर्षको अवसर परी बेलायती राजकुमार ह्यारीबाट नेपाल भ्रमण हुन गौरवको विषय भएको बताउनुभयो ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधु रेग्मीले नेपालमा पहिलोपटक सम्मेलन आयोजना गर्न पाउनु नेपालका लागि गौरवको विषय रहेको चर्चा गर्दै मन्त्री मैनालीले सरकारले बालविवाह अन्त्यका लागि सरकारले रणनीति तयार गरी कार्यान्वयन गरिराखेको छ भन्नुभयो । उहाँले बालविवाह अन्त्यका लागि थप जनचेतना जगाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

कालीकोट जिल्लाबाट सम्मेलनमा सहभागी भएकी राधिका बुढाले पहिलोपटक बालविवाह अन्त्य गर्ने सम्मेलनमा सहभागी हुन पाएकामा खुसी व्यक्त गरिन् । “नेपालमा उमेर नपुगी बालविवाह हुने गर्दछ, यसमा पनि मैले प्रतिनिधित्व गरेको जिल्ला र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा धेरै छ, लैङ्गिक असमानता त छँदैछ, छोरीलाई कम महत्व दिइन्छ, यसैले बालविवाह बढिरहेको छ” १४ वर्षीय बुढाले भनिन् । आत्मसम्मान र आत्मगौरवका लागि विद्यालयमा बालमैत्री वातावरण तयार गर्न जरुरी रहेको उनको भनाइ छ ।”रासस

 

LIVE TV