१० चैत्र २०७२, बुधबार

पाल्पा, दोभानकी भिमीसरा घर्ती मगर सिँचाइको सुविधा भएपछि अहिले व्यावसायिक तरकारीखेती गरी यथेष्ट आम्दानी गर्नुहुन्छ ।

irrigation-Newfane3
सिँचाइको अभावले बाँझो रहेका जग्गामा अहिले हराभरा तरकारी फलेको छ । “खेती गर्न कृषि विकास कार्यालयले कुलो निर्माण तथा मर्मतमा सहयोग गरेपछि बाह्रैमास सिँचाइ सुविधा पुगेको छ” मगरले भन्नुभयो । पानीको अभावमा बाँझो रहेको जग्गा अहिले प्रयोगमा आएको छ ।

पिपलडाँडाका खेमबहादुर सारुलाई पनि अब रातिमा पानीको पालो कुरेर बस्नु पर्दैन । पक्की कुलो निर्माण गरी पानी ल्याएपछि सिँचाइ गर्न सहज भएको हो । यहाँ ५० घरधुरीलाई खाद्यान्न तथा तरकारी बालीमा सिँचाइ गर्न सहज भएको छ ।

जिल्ला कृषि विकास कार्यालयले साना सिँचाइ कार्यक्रमअन्तर्गत यम्घा गाविसमा रु ४५ हजारमा कुलो निर्माण तथा मर्मत गरिएपछि ३० रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । सिँचाइ गर्न सहज भएपछि यहाँको बोटे समुदाय यतिखेर तरकारी खेतीतर्फ आकर्षित भएको छ ।

अहिले सिँचाइ गर्न निस्दी खोलाको पानीको उपयोग गरिएको छ । कम लगानीमा सम्पन्न गर्नसकिने पुराना योजना मर्मत सम्भारका लागि रकम विनियोजन गरिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक मोहनकुमार सिंहले बताउनुभयो । कार्यालयले साना सिँचाइ कार्यक्रमअन्तर्गत साना कुलो निर्माण, मर्मत, प्लास्टिक पोखरी, सिमेन्ट पोखरी निमार्ण गर्न किसानलाई अनुदान रकम उपलब्ध गराएको छ ।

वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाका अनुसार यस आर्थिक वर्षमा ८६ वटा प्लास्टिक पोखरी, १७ वटा सिमेन्ट पोखरी, ४७ वटा कुलो निर्माण तथा मर्मतका लागि रु ५७ लाख ३८ हजार रकम विनियोजन गरी योजना सम्पन्न भइसकेका छन् ।

साना सिँचाइ योजनाबाट यसवर्ष एक हजार रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । गत आवमा ८४ वटा योजनाका लागि रु ६१ लाख ८० हजार खर्च भएको बताइएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV