१० चैत्र २०७२, बुधबार

काठमाडौँ, मित्रराष्ट्र चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेइजिङस्थित तियानमेन स्क्वायरमा राखिएको जनवादी गणतन्त्र चीनका अध्यक्ष माओ त्से–तुङकोे पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

mao-sleeping-nepal-aawaj.com_-768x427
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गर्नुभएको विज्ञप्तिमा चीन भ्रमणमा रहनुभएका ओलीले जनवादी गणतन्त्रका अध्यक्ष माओ त्से–तुङको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको उल्लेख छ ।

यसअघि प्रधानमन्त्री ओलीले स्क्वायरमा रहेको चिनियाँ वीर सहिदको स्मारक स्तम्भमा पुष्पगुच्छा चढाउनुभएको थियो । प्रधानमन्त्री ओली तियानमेन स्क्वायर पुग्दा उहाँको सम्मानमा राष्ट्रिय धुुन बजाइएको थियो ।

प्रसिद्ध पर्यटकीय स्थलसमेत रहेको तियानमेन क्षेत्रमा नेपाल र चीनका झन्डा फहराइएका छन् ।

प्रधानमन्त्रीले आजै बेइजिङमा पिपल्स पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्सका अध्यक्ष यु चेनसेंगसँग ग्रेट हल अफ दि पिपुलमा भेटवार्ता गर्नु हुनेछ भने बेइजिङको औपचारिक कार्यक्रमपछि हेनान प्रान्तको सान्या सहर जानु हुने कार्यक्रम छ ।

प्रधानमन्त्रीले बिहीबार हाइनानमा एसियाको नयाँ भविष्य, नयाँ आयाम र नयाँ दृष्टिकोण विषयमा बोआओ मञ्चलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेकोे विज्ञप्तिमा उल्लेख छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV