
बेल्जियमको राजधानी ब्रसेल्समा गराइएको बम आक्रमणमा संलग्नलाई पक्राउ गर्न प्रहरीद्वारा वान्टेड नोटिस जारी, आक्रमणमा संलग्नको खोजी तीब्र
बेल्जियम प्रहरीले राजधानी ब्रसेल्सको विमानस्थल र मेट्रो स्टेसनमा बम आक्रमण गर्नेलाई पक्राउ गर्न वान्टेड नोटिस जारी गरेको छ । बेल्जियम भरी आतंककारी विरुद्धको अभियान सुरु गरिएको र आक्रमणमा संलग्नको खोजी भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।
बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मेवारी लिएको छ । ब्रसेल्सको मुख्य विमानस्थल जावेन्टममा दुई वटा विस्फोट हुनु पूर्व एक जना मानिस अरु दुई जना आरोपी सँगै हिँडेको देखिएको थियो । ती दुई जनाले आफैलाई विस्फोट गराएका विस्फोट गराएका थिए । आक्रमणमा संलग्न मुख्य आक्रमणकारीले टाउकोमा ह्याट तथा उज्यालो रंगको ज्याकेट लगाएको र उसको खोजी भइरहेको सरकारी अधिकारीले बताएका छन् । ब्रसेल्सको एक अपार्टमेन्टबाट विस्फोटक पदार्थसहितको नङ, रसायनीक सामग्री तथा आइएसको झण्टा भेटिएको प्रहरीले जनाएको छ । जावेन्टमका मेयर फ्रान्सिस वेर्मेइरेनका अनुसार आत्मघाती आक्रमणकारीले बम आफ्नो सुटकेसमा लुकाएका थिए । विमानस्थलमा विस्फोट भएको झण्डै एक घण्टापछि युरोपियन युनियनको मुख्यालय नजिक रहेको मेट्रो स्टेसनमा विस्फोट भएको थियो । दुवै ठाउँको विस्फोटमा परेर कम्तीमा ३० जनाको ज्यान गएको छ भने १ सय भन्दा धेरै घाइते भएका छन् ।
आइएसले आत्मघाती बम विस्फोट गराएको दाबी गरेपछि सरकारी अधिकारीले अनुसन्धान भइरहेको बताएका छन् । गएको वर्षको नोभेम्बर १३ मा फ्रान्सको राजधानी पेरिसमा एक सय ३० जनाको ज्यान जाने गरी भएको आक्रमणका मुख्य आक्रमणकारी सालह अब्देसलाम ब्रसेल्सबाट पक्राउ परेको चार दिनपछि नै विस्फोट भएको हो । विश्वका नेताले आक्रमणमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आतंकवाद विरुद्ध एक भएर लाग्ने बताएका छन् । ब्रसेल्स आक्रमणपछि युरोपभरको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।