१० चैत्र २०७२, बुधबार

बेइजिङ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एक चीन नीतिप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको र त्यसलाई व्यवहारमा पनि कार्यान्वयन गर्दैआएको बताउनुभएको छ ।

चीनको बेइजिङस्थित रेनमिन विश्वविद्यालयद्वारा मङ्गलबार आयोजित ‘वान् बेल्ट–वान् रोड इनिसिएटिभ्स’को सन्दर्भमा दुई मुलुकबीचको सम्बन्ध विषयको विद्वत् गोष्ठीलाई सम्बोधन गर्दै उहाँले दुई मुलुकबीचको सम्बन्ध ‘पञ्चशील’ सिद्धान्तमा आधारित रहेको उल्लेख गर्नुभयो । उहाँले सार्वभौम समानता, अहस्तक्षेप र एकअर्काको संवेदनशीलताप्रतिको आदरबाट दुई मुलुकको स्थिर मित्रता निर्देशित रहेको छ भन्नुभयो ।

nepal china pm tour
प्रधानमन्त्री ओलीले भन्नुभयो– त्यसैगरी नेपालको सार्वभौमिकतालाई जनगणतन्त्र चीनले सम्मान दर्शाउँदै आएको छ र नेपालको विकास प्रयासलाई सघाउँदै आएको छ । हाम्रा दुई मुलुक सुख र दुःखका बेलाका सदाबहार मित्र हुन् ।
नेपालको भौतिक पूर्वाधार निर्माणका परियोजनाका लागि चीनबाट प्रदत्त उदार सहायताले नेपालको विकास प्रयासलाई सघाएको विचार व्यक्त गर्दै उहाँले चिनियाँ कम्पनीको लगानी, व्यापारिक सम्बन्ध र प्राविधिक सहयोगमा उनीहरूको गतिशील संलग्नताले नेपालको विकासलाई गति प्रदान गरेको भए पनि आर्थिक सहयोगलाई थप उचाइमा लानुपर्नेमा जोड दिनुभयो । चीन नेपाली विद्यार्थीका लागि एउटा सुगम र महìवपूर्ण गन्तव्यका रूपमा विकास हुँदै गएको बताउँदै उहाँले भन्नुभयो– चीनमा अध्ययनरत नेपाली विद्यार्थीको बढ्दो सङ्ख्याले ज्ञानको आदानप्रदान, सीप विकास र साझा भविष्यको सम्भाव्यतालाई चहकिलो बनाएको छ ।
उहाँले भन्नुभयो– अल्पविकसित अर्थतन्त्रयुक्त भूपरिवेष्टित राष्ट्र नेपालसामु मुलुकलाई समृद्ध बनाउने थुप्रै चुनौती विद्यमान छन् । हामीलाई लगानी अभिवृद्धि गर्न, स्रोत उपयोग गर्न, प्रविधि र नवीन रणनीतिको विकास गर्न जरुरी छ । लगानीले हाम्रा बाध्यतालाई सहज बनाइदिनेछ, स्रोतले उत्पादनशील आधार खडा गर्नेछ र प्रविधिले विकासलाई गतिवान् बनाइदिनेछ ।
औद्योगिक आधार फराकिलो पार्न र कृषिलाई आधुनिकीकरण गर्न आफ्नो सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले उद्योगलाई इन्धनका रूपमा आवश्यक पर्ने ऊर्जा उत्पादन गर्न र जलस्रोतको अधिकतम उपयोग गर्न आफूहरू कटिबद्ध रहेको जानकारी दिनुभयो । लगानीका लागि नेपाली बजार खुला रहेको बताउँदै उहाँले भन्नुभयो– भूबनोटका कारण सिर्जित अवरोधलाई वान् बेल्ट वान् रोड अभियानले सहज पार्ने मेरो विश्वास छ ।
सन् २०१५ मा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापित भएको हीरक जयन्ती मनाइएको स्मरण गर्दै उहाँले विगतका ती मित्रतापूर्ण वर्ष र दशकमा सँगै मिलेर अवसर पहिल्याएको, साझा आकाङ्क्षालाई मूर्तरूप दिन प्रतिबद्धता व्यक्त गरेको र खाँचो परेका बेला सहयोग आदानप्रदान गरेको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो– वान् बेल्ट वान् रोड अभियान समृद्धिको सहयोगात्मक आयाम भेटाउने, साझा सरोकार मुखरित गर्ने र सहयोग गहिरो बनाउने सम्पर्क स्थापित गर्ने हाम्रा सम्भाव्यताको ढोका खोल्ने मुख्य कदम हो । उहाँले– यो अभियानबाट अगाडि बढ्दा चिनियाँ राष्ट्रपति सी जिन पिङले भन्नुभएको ‘साझा गन्तव्यका समुदाय’लाई अन्ततः भेट्टाउन हामीले अनगिन्ती छाल पार गर्नुपर्ने हुन्छ ।
नेपाल साङ्घाई सहयोग सङ्गठन सदस्य
प्रधानमन्त्री ओलीको उपस्थितिमा मङ्गलबार साङ्घाई सहयोग सङ्गठन संवाद साझेदार नेपाल सदस्य भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
क्षेत्रीय विकासको अवधारणामा स्थापित सो सङ्गठनको कार्यालयमा नेपाल सो सङ्गठनको साझेदार बन्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र उक्त संस्थाका महासचिवले हस्ताक्षर गर्नुभएको छ । -गोरखापत्र

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV