९ चैत्र २०७२, मंगलवार

चितवन- सौराहामा रहेको करोडौँ मूल्यको जग्गा भूमाफियाले नक्कली कागजात बनाएर बिक्री गरेको खुलेको छ ।

jill-prahari
सम्बन्धित जग्गाधनीले थाहा पाएपछि उजुरीसँगै सो कार्यमा संलग्न भएका तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । अन्य फरार छन् ।

पूर्वी चितवनको साविक बछ्यौली गाउँविकास समितिको वडा नं २ स्थित कमल बस्नेतको नाममा स्रेस्ता कायम भएको कित्ता नं २१६ को १९ कट्ठा १४ धुर जग्गा बागलुङ रणसिंह किटेनीका मेरसिंह घर्तीका नाममा नामसारी भएपछि वास्तविक जग्गाधनी कानुनको शरण लिन बाध्य भएका हुन् । सुनसरी इटहरी नगरपालिका घर भई हाल काठमाडाँै बस्ने बस्नेतले आफूले जग्गा बेचेको नभई भूमाफियाले कीर्ते गरी जग्गा बेचिदिएको भनी गत फागुन ३० गते मालपोत कार्यालय र प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
मालपोत कार्यालयमा बस्नेतको जग्गा गत माघ १३ गते घर्तीको नाममासे्रस्ता कायम भएको देखिन्छ । सो जग्गा रु दुई करोडमा बेचिएको उल्लेख गरिएको छ । मालपोतमा राजस्वमात्रै रु आठ लाख बुझाइएको छ ।

जग्गाको नामसारी गरेलगत्तै ज्योति विकास बैंक काठमाडाँैमा धितो राखी रु दुई करोड कर्जा लिइसकिएको छ । जग्गाको चलनचल्तीको मूल्य भने रु पाँच करोडभन्दा बढी पर्ने बताइएको छ ।

यसअघि पुस ६ गते काठमाडौँ धापासी बस्ने ४५ वर्षीया दुर्गा केसी र काठमाडौँ पञ्चेश्वर वडा नं ९ बस्ने ५० वर्षीया विमला थापाको नाममा रु ९५ लाखमा सोही जग्गा दृष्टिबन्धकसमेत रजिस्ट्रेसन गरिएको छ ।

उजुरीका आधारमा संलग्न भएको देखिएका घर्ती, केसी र थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि सोमबार सात दिनको म्याद थप गरेको छ ।
उक्त कार्यमा १५ जनाको संलग्नता पाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी गराउनुभयो ।

मालपोत कार्यालय चितवनका प्रमुख घनश्याम उपाध्यायले नागरिकता, लालपूर्जा, चार किल्लालगायतका आवश्यक सम्पूर्ण कागजात दुरुस्त ल्याएपछि कर्मचारी झुक्किएको बताउनुभयो । रासस

 

LIVE TV