
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्भाव, सांस्कृतिक एकता, परस्परको खुसी एवम् रङको पर्व फागु(होली)ले एकताको सन्देश र संस्कृति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
फागुपूर्णिमाको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले नेपाल आफैँमा विविधताबीच एकताको सन्देश र संस्कृति निर्माण गर्दै अगाडि बढेको मुलुक भएकाले हाम्रा धर्म, संस्कृति र पर्वले एकता, आपसी सद्भाव र सहकार्यको जगलाई सदैव सवल र सुरक्षित तुल्याउँदै आएको जनाउनुभएको छ ।
फागुपर्वले विविधताबीचको एकता र आपसी सद्भावको सन्देश र औचित्य स्थापित गर्दै सबै क्षेत्र र समुदायका नागरिकलाई समेटेको तथा रङ्गका माध्यमबाट यो पर्वले हाम्रो समाजलाई एकताबद्ध एवं मेलमिलापयुक्त तुल्याउन दिएको सन्देश मननीय र मूल्यवान रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
सन्देशमा भनिएको छ– “विभिन्न जातजाति, धार्मिक मूल्य मान्यता र देशका सबै भू–भागमा बस्ने नेपालीबीच मित्रता र मेलमिलापको संस्कृति र विश्वासलाई थप सुदृढ तुल्याउन यो पर्वले सबैमा प्रेरणा प्रदान गरोस् ।”
फागुजस्ता चाडपर्व र संस्कृतिले आपसी मित्रता, सद्भाव र राष्ट्रिय एकता कायम गर्दै हामी सबै नेपालीले राष्ट्रलाई समृद्धि, एकता र सबै पक्षबाट स्थिरताको दिशामा अगाडि बढाउन प्रेरणा मिल्ने कामनासमेत प्रधानमन्त्रीले गर्नुभएको छ ।
प्रधानमन्त्रीले टीकाका रङमार्फत अभिव्यक्त सांस्कृतिक खुसीलाई हरेक नेपालीको घर आँगनमा आर्थिक समृद्धि, सहिष्णुता र सामाजिक सद्भाव निर्माण गर्ने थप सहयोग पुग्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । रासस