८ चैत्र २०७२, सोमबार

काठमाडौँ-  रुखबाट प्राप्त हुने काठको महत्व घर बनाउँन वा दाउरा बाल्न मात्र हो भन्ने बुझ्यौं भने हामी गलत हुन सक्छौं । किनभने सिर्जनशील कलाकारको कल्पना र शिल्पीहात पाएपछि त्यही काठबाट सुन्दर र आकर्षक कलाकृतिहरु समेत सिर्जिन्छन् ।

World-Wood-Day-in-Nepal-2016

यसको प्रत्यक्ष अनुभूतिका लागि अहिले काठमाडौंस्थित प्रज्ञा भवनमा विशेष कार्यक्रमको आयोजना भैरहेको छ । जहाँ  बनजङगलबाट प्राप्त हुने काठहरुबाट विभिन्न धर्म र समुदायका मौलिक कला र संस्कृति झल्किने सामाग्रीहरु प्रत्यक्ष निर्माण प्रदर्शनी भैरहेको छ ।

विश्व काष्ठ दिवस २०१६ मनाउँने सन्दर्भमा नेपाल सहित विश्वका विभिन्न देशका काष्ठ कलाकार प्रज्ञा भवन काठमाडौंमा अहिले विभिन्न कलाकृतिहरु सिर्जना गर्नमा व्यस्त छन् । बनजङगलबाट प्राप्त हुने काठहरुबाट कला र सस्कृति भल्कने आकृति तथा मुर्तिहरु बनाउन सकिने भन्दै काठ जोगाउने उद्देश्यले विश्व काष्ठ दिवस मनाउन थालिएको हो । विश्व काष्ठ दिवस मनाउन भन्दै ९८ वटा देशहरुबाट विभिन्न कलाकर्मीहरु राजधानी भित्रिएका हुन । बिदेशी कलाकर्मीहरुले राजधानीको प्रज्ञा भवनमा आफनो देशको कला र संस्कृति झल्किने खालका सामाग्रीहरु धमाधम निर्माण गरिरहेका छन्  । प्रज्ञा भवनमा आयोजित विश्व काष्ठ दिवसको कार्यक्रममा बनमन्त्री अग्नि सापकोटाले प्राकृतिक सम्पदाहरुको संरक्षण र सदुपयोगमा ध्यान दिनुपर्ने बताउनुभयो ।

काठहरुबाट आ आफ्नो कला संस्कृति र कलाकारको कल्पनाशीलता अनुसारको कलाकृति सिर्जना गर्न सकिने भएकोले जथाभावी काठको दुरुपयोग गर्न नहुने सन्देश दिन काष्ठ दिवस मनाउन थालिएको कार्यक्रमका सहभागीहरुको भनाई छ ।

प्रकृतिले दिएको काठहरुको महत्व बुझेमा आर्थिक आय आर्जनको स्रोत तथा पेशा नै बन्न सक्ने बिदेशी कलाकर्मीहरुको बुझाई छ ।

प्राकृतिक सम्पदाहरुको संरक्षणमा ध्यान दिनुपर्ने र काठहरुको सदुपयोगमा ध्यान दिनुपर्ने सन्देश दिन भन्दै सन् २०१३ बाट विश्व काष्ठ दिवस मनाउन थालेको हो । विभिन्न देशहरुमा मनाउदै आएको यो दिवस यस बर्ष नेपालमा विभिन्न कार्यक्रम गरि मनाउँन थालिएको हो । प्रज्ञा भवनमा जारी कार्यक्रम तीन दिनसम्म चल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV