८ चैत्र २०७२, सोमबार

काठमाडौँ, काठमाडौँ महानगरपालिले राजस्व सङ्कलनको लक्ष्यमा ७६ प्रतिशतले प्रगति गरेको छ । महानगरका अनुसार दोस्रो चौमासिकमा रु १४ करोड ७७ लाख ६४ हजार ६३२ मात्र राजस्व असुल गरेको हो ।
महानगरपालिका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार सो अवधिसम्मको लक्ष्य भने रु १९ करोड ५४ लाख ९७ हजार ५०० रहेको थियो । उहाँका अनुसार चालु आर्थिक वर्षमा नयाँ राजस्व शीर्षकमा लक्ष्यअनुसार कर सङ्कन गर्न नसकिएको हो ।

करका शीर्षकमध्ये सबैभन्दा बढी घरजग्गा करमा सबैभन्दा बढी रु १० करोड ६३ लाख एक हजार ७७६ रकम असुल भएको छ । त्यसैगरी सबैभन्दा कम मनोरञ्जन शीर्षकमा रु १० हजार ९४५ रमक असुल भएको बताइएको छ ।

“यसै वर्षदेखि थप गरिएका नयाँ करको शीर्षकसहितका लागि लक्ष्य निर्धारण गरेको भए पनि नयाँ शीर्षकमा राजस्व सङ्कलन हुन नसक्दा लक्ष्यअनुरुप कर सङ्कलन हुन नसकेको हो”–काफ्लेले भन्नुभयो । उहाँले आव २०७२÷७३ मा रु ७८ करोड १९ लाख ९० हजारको लक्ष्य निर्धारण पूरा हुने दावी गर्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV