
आपसी सद्भाव र मित्रता साटासाट गरी एकआपसमा रंगहरु लगाएर मनाइने पर्व होली विश्वव्यापी बन्दै गएको छ । केही वर्ष अघिसम्म नेपाल भारतमा मात्र सिमित होली पर्वको लोकप्रियता संसारभरी फैलिएको छ
काठमाडौँ- रंगहरुको पर्व होली नेपाल, भारत लगायतका विभिन्न हिन्दू समुदायको बसोबास रहेका मुलुकमा असत्यमाथि सत्यको विजय भएको दिनको सम्झनामा सदियौँदेखि मनाउँदै आइएको पाईन्छ । यो पर्व केबल हिन्दुहरुको बाहुल्यता भएको देशहरुमा मात्र नभएर पछिल्लो समय बङ्गलादेश, पाकिस्तान अमेरिका, जापान, मलेसिया, इण्डोनेसिया, लगायतका बिभिन्न देशहरुमा पनि रमाईलोसंग मनाउने गरिएको छ ।
कट्टर ईस्लामिक मुलुकको रुपमा रहेको पाकिस्तानमा केहि समय अघिसम्म हिन्दुहरुलाई आफ्नो पर्व मनाउन रोक थियो तर यस वर्षबाट छुट गरी सरकारले होली पर्व मनाउनको लागि सार्वजनिक बिदा समेत दिने ब्यबस्था गरेको छ । त्यहाँ बसोबास गर्ने हिन्दुहरुले पहिलो होलीका रुपमा यो बर्ष रमाईलोसंग मनाउने भएका छन् ।
यता मलेसियामा रहेको लक्ष्मीनारायण मन्दिरमा पनि हरेक बर्ष धुमधामका साथ होली पर्व मनाईन्छ । मलेसियामा बिशेष गरी एकआपसमा प्रेम साटासाटको पर्वका रुपमा यस पर्वलाई लिईन्छ । मलेसियामा होली पर्वलाई हिन्दुबाहेकका समुदायले पनि मनाउने गरेका छन् ।
त्यस्तै जापानमा यसपर्वलाई रंगहरुको मुख्य पर्वका रुपमा मनाउने गरेको पाईन्छ । संयुक्त राज्य अमेरिकाको बिभिन्न राज्यहरुका पनि नेपाली र भारतीयहरुले मात्र नभएर अन्य समुदायले पनि यो पर्वलाई मनाउने गरेका छन् । त्यस्तै पोर्चुगल, ईण्डोनेसिया, वेलायत, फ्रान्स, दक्षिण कोरिया,लगाएतका देशहरुमा पनि नेपाली र इण्डियनहरुले रमाइलो गरी होली मनाउने गर्दछन् ।
यसरी हेर्दा होलीको सांस्कृतिक पहिचान केबल नेपाल भारत जस्ता मुलुकमा मात्र नभएर बिश्वभर मौलाउँदै गएको देखिन्छ । होली पर्व केवल हिन्दुहरुमा मात्र सिमित नभएर अन्य धर्म मान्ने मानिसहरुमा पनि आकर्षण बढेको देखिन्छ । पछिल्लो समय बिश्वका बिभिन्न मुलुकहरुमा हरेक धर्म मान्य मानिसहरुले पनि यसलाई रमाईलो संग मनाउने गरेका छन् । यसरी हेर्दा होली पर्वले बिश्वभर नै एकखालको मित्रताको भावना र सकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ ।