८ चैत्र २०७२, सोमबार

काठमाडौँ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ संविधान कार्यान्वयनसँगै मुलुकमा व्याप्त हरेक प्रकारका विभेद् अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।

Sher_Bdr_Deuba

एकाउन्नौँँ अन्तर्राष्ट्रिय जातीय विभेद् उन्मूलन दिवस (मार्च २१) को अवसरमा राष्ट्रिय दलित आयोग, उत्पीडित, उपेक्षित तथा दलित वर्ग उत्थान विकास समिति, वादी समुदाय उत्थान विकास समिति, दलित नागरिक समाज, संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले संयुक्तरूपमा यहाँ आज आयोजना गरेको वृहत् अन्तरक्रियामा पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

“दलित, महिला, मुस्लिम, आदिवासी जनजातिमाथि हुने विभेद् र अन्य क्षेत्रीय विभेद्लाई अन्त्य गर्नका लागि पनि जतिसक्दो चाँडो संविधान कार्यान्वयन गर्नुपर्छ, त्यसका लागि सबैको उत्तिकै भूमिका हुन्छ,” उहाँले भन्नुभयो । दलित समुदायलाई राज्यका हरेक संरचनामा समान सहभागिताका लागि आरक्षणको व्यवस्था गरिएको उहाँको भनाइ छ ।

एकाउन्नौँँ अन्तर्राष्ट्रिय जातीय विभेद् उन्मूलन दिवस (मार्च २१) का दिन सरकारले सार्वजनिक बिदा दिनुपर्ने मागसमेत दलित समुदायले गर्दै आएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद जीवन परियारले अन्य समुदायको तुलनामा दलित समुदायलाई सबैभन्दा बढी संविधानको आवश्यक परेको हुँदा कार्यान्वयनका लागि पनि दलित समुदाय नै अग्रसर हुनुपर्ने बताउनुभयो ।

एकीकृत नेकपा (माओवादी)का नेता विश्वभक्त दुलाल, सांसदहरू दलजीत श्रीमाइली र जीतु गौतमले मुलुकमा व्याप्त जातीय भेद्भाव तथा छुवाछूत अन्त्य गर्नका लागि भएका ऐन÷कानुनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

अफ्रिकाको जातीय, रङ्गभेदसम्बन्धी मुद्दाबाट २१ मार्च मनाउने सुरुवात् गरिएको हो । जतिवेला गोराहरूको हरेक प्रकारको विभेद र मजदुरी काला जातिले झेल्न बाध्य भएका थिए । सङ्घर्ष गर्ने क्रममा काला जातिका मानिसले परिचय लेखेको पत्र जलाएर गरेको सङ्घर्षमा ६९ जनाको मृत्यु पनि भयो ।

त्यो आन्दोलनलाई सरकारले निर्मम तरिकाले दमन ग¥यो । त्यसै घटनाको स्मरणमा यस दिनलाई जातीय विभेद् उन्मूलन दिवसको रुपमा मनाउन सुरु गरिएको छ । नेपालको सन्दर्भमा सिधै सम्बन्धित नभएपनि संसारभरि हुने हरेक विभेद्का मुद्दासँग सम्बन्धित भएर हेर्दै २०४९ सालदेखि यो दिवस मनाउने गरिन्छ ।

दिवसको अवसरमा आज बिहान निकालिएको ¥याली भृकुटीमण्डपबाट सुरू भएर शहिद ढोका हुँदै त्रिपुरेश्वरमा पुगी कोण सभामा परिणत भएको थियो । रासस

 

LIVE TV