८ चैत्र २०७२, सोमबार

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गर्दैछ– दक्षिण कोरिया

korea

सोल, गएको केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरिपनि अर्काे परीक्षण गर्न लागेको दक्षिण कोरियाले जनाएको छ ।
दक्षिण कोरियाले सोमबार सो जानकारी दिएको बताइएको छ । बताइएअनुसार उत्तर कोरियाले पछिल्लो समयमा उसका विरुद्धमा अमेरिका तथा संयुक्त राष्ट्रसंघले नै लगाएको नाकाबन्दीका विरुद्धमा फेरि अर्काे परीक्षणको तयारी गरिरहेको छ ।
यसका साथै यस्तो कुनैपनि परीक्षणका विरुद्धमा आफूहरु तयारी अवस्थामा रहेको पनि दक्षिण कोरियाले जानकारी दिएको छ ।

दक्षिण कोरियाली सरकारका प्रवक्ता ज्योन जुन हिले सोमबार भन्नुभयो– उत्तर कोरियाले पाँचौ पटक यस्तो परीक्षण गर्दैछ र हामी त्यसका लागि त्यसको प्रतिकारको तयारीमा छौँ ।

उहाँले आफ्नो सरकारले उत्तर कोरियाले गतहप्ता पनि यस्तै ब्यालेस्टिक परीक्षण गरेको र त्यसअघिको तयारी थाहा पाएको भन्दै यतिखेर पनि उसले गरेको तयारीको बारेमा थाहा भएको जनाएको हो ।
उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उत्तर कोरियाले अर्काे ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । उत्तर कोरियाले बिहीबारमात्र यस्तो क्षेप्यास्त्र परीक्षण गरेको जानकारी दिइएको थियो ।

बिहीबार बिहानै गरिएको यस्तो क्षेप्यास्त्र मध्यम दुरीको भएको बताइएको छ । यस क्षेप्यास्त्र समुद्रमा खस्नुभन्दा अघि कम्तीमा पनि ८०० किलोमीटर लामो यात्रा गरेको थियो ।

योनहाप समाचार समितिले दिएको जानकारीअनुसार सो क्षेप्यास्त्र बिहीबार उत्तर कोरियाको पूर्वी भूभागलाई लक्ष्य गरेर गरिएको थियो र मध्यमदुरीको यात्रापछि सो क्षेप्यास्त्र पानीमा खसेको थियो ।

तर यस विषयमा उत्तर कोरियाको प्रतिक्रिया भने केही आएको छैन । यस अगावै बुधबारै अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको घोषणा गर्नुभएको ह्वाइटहाउसले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

गत दुई हप्तामात्र अघि संयुक्त राष्ट्रसङ्घले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको थियो । उक्त नाकाबन्दीपछि पनि उत्तर कोरियाले थप शक्तिशाली आणविक परीक्षण गर्ने चेतावानी दिएको थियो ।

लामो दूरीको रकेट परीक्षणपछि सबैभन्दा बढी विरोध गर्ने दुई राष्ट्र दक्षिण कोरिया र अमेरिका हुन् । यी दुई देशले पनि उसका विरुद्धमा नाकाबन्दी घोषणा गरेका छन् ।

फोन ह्याक गरेको आरोप

यसैबीच प्राप्त अर्काे एक समाचारमा दक्षिण कोरियाली गुप्तचर निकायले उत्तरले आफ्ना महत्वपूर्ण सरकारी अधिकारीहरुको फोन ह्याक गरिदिएको बताएका छन् ।

यसअघि पनि उसले पटक पटक उत्तर कोरियाले साइबर हमला गर्ने गरेको र यस पटक आफ्ना महत्वपूर्ण र उच्च पदस्थ सरकारी कर्मचारीको मोबाइल फोन नै ह्याक गरिदिएको बताएको समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाका महत्वपूर्ण सरकारी अधिकारीका मोबाइल फोनहरु उत्तर कोरियाले ह्याक गरिदिएको उनीहरुको भनाई छ ।

दक्षिणको उक्त गुप्तचर निकायले उत्तरले बिगत लामो समयदेखिदक्षिण कोरियाको सूचना प्रविधिमा हमला गर्ने गरेको आरोप लगाएको छ ।

गएको ६ फेब्रुअरीमा उत्तर कोरियाले लामो दूरीको रकेट परीक्षण गरेपछि सुरु भएको विवाद हाल विश्वव्यापी बनेको छ । यसका कारण दक्षिणकोरिया, जापान र संयुक्त राज्य अमेरिका एक भएका छन् र उनीहरुले उत्तर कोरिया विरुद्धको नाकाबन्दीका लागि संयुक्त राष्ट्रसंघलाई सघाएका थिए ।

उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणपछि उसले दक्षिण कोरियामाथि निरन्तर रुपमा साइबर हमला गर्दै आएको पनि बताएको छ ।

दक्षिण कोरियाको गुप्तचर निकाय नेशनल इन्टेलिजेन्स सर्भिस (एनआइएस) ले उत्तर कोरियाले दक्षिण कोरियाका महत्वपूर्ण सरकारी अधिकारीको फोन नम्बर चोरेर लगेको र यसबाटै उनीहरुले नियन्त्रण गरी फोन बिगारिदिएको जनाएको छ । रासस÷एएफपी

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV