७ चैत्र २०७२, आईतवार

आपूर्ति ब्यवस्था महाशाखा अन्तर्गत बारा पथलैया अवस्थित केन्द्रिय मेडिकल स्टोर्समा भीषण आगलागी, करौडौं रुपैयाँको औषधी र भवन जलेर नष्ट

ago

बारा- आपूर्ति ब्यवस्था महाशाखा अन्तर्गत बाराको पथलैयामा रहेको केन्द्रिय मेडिकल स्टोर्समा आईतवार भीषण आगलागी भएको छ । आगलागीबाट करौडौं रुपैयाँको औषधी र भवन जलेर नष्ट भएको छ ।

पर्सा वन्यजन्तु आरक्षको क्षेत्रमा रहेको गोदाममा जंगलबाट फैलिएको आगोका कारण आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । महाशाखा अन्तर्गतको उक्त केन्द्रीय स्टोरमा दर्जन बढि ठूला गोदामहरु रहेका छन् । जसबाट देशको ७५ वटै जिल्लाका जनस्वास्थ्य कार्यालयका लागि दातृ निकायबाट अनुदान प्राप्त तथा नेपाल सरकारद्वारा खरिद गरिएका औषधि भण्डारण गरि पठाउने गरिन्छ । विहान साँढे नौ बजेबाट शुरु भएको आगो ६ घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो । आगो नियन्त्रण गर्न वीरगञ्ज उपमहानगरपालिकाका २ वटा, कलैया नगरपालिकाको १ र हेटौडा उपमहानगरपालिकाको १ गरी ४ वटा बारुण यन्त्रलाई करिव ६ घण्टा लागेको थियो ।

आगलागी भएको गोदाम नं. ७ मा ग्लोबल फण्ड, युनिसेफ, एसडिएफबाट अनुदान प्राप्त र नेपाल सरकारले खरिद गरेको विषाधियुक्त झुल, कण्डम, किटनाशक औषधि, एडि सिरिञ्ज, इजि पेष्ट, कपास, हात्ती पाईलेको औषधिहरु पुर्णरुपमा जलेर नष्ट भएको बरिष्ठ जनस्वास्थ्य अधिकृत अरुणकुमार झाले जानकारी दिनुभयो ।

आगलागीको कारण र क्षतिको यकिन विवरण भने प्राप्त हुन बाँकी नै रहेको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।

 

LIVE TV