७ चैत्र २०७२, आईतवार

काठमाडौँ- नाकाबन्दीमा ग्यासको अभावमा हुनसम्मको सास्ती खेपेका सर्वसाधारणले नाकाबन्दी खुलेपछि सहज रुपमा ग्याँस पाउने विश्वास गरेका थिए । तर नाकाबन्दी खुलेको दुई महिना बितिसक्दा पनि सर्वसाधारणले एक सिलिण्डर ग्याँस पाउँन अझै पनि उस्तै सास्ती खेप्न बाध्य छ ।

एकातिर पर्याप्त ग्यास आइरहेको भनेर विभिन्न सरोकारवालाहरुले भनिरहँदा बजारमा भने ग्यास पाउन नसकिएपछि आम उपभोक्तामा आक्रोश बढ्नु स्वभाविकै हो । तर दुई महिना वितिसक्दा पनि बजारमा सहज रुपमा ग्यास नपाउनुमा सरकारको लाचारीपन र लापरवाहिको नमुना भने गजबले उदाङ्गो बनेको छ ।

पाँच महिना लामो नाकाबन्दीका कारण खाना पकाउने ग्यासको अभावमा सर्वसाधारणले खेप्नुसम्मको पीडा खेपे । नाकाबन्दी खुल्ला र ग्याँसको आपूर्ति सहज होला भनेर बसेका आम उपभोक्ताहरुले नाकाबन्दी खुलेको दुई महिना वितिसक्दा पनि ग्याँस पाउँन नसकेपछि आक्रोश बढ्दो छ । कहिलेसम्म ग्याँस सहज हुन्छ भन्ने विषयमा सरकार अझै मौन बसिरहेको छ भने छिट्टै आपूर्ति सहज हुन्छ भन्ने नेपाल आयल निगमको आश्वासन कहिले पूरा हुन्छ भन्नेमै अन्यौल छ ।

तर, ग्यास वितरण सहज हुन नसक्नुमा फितलो अनुगमन प्रमुख दोषी रहेको उपभोक्तावादीहरुको गुनासो छ ।  हुन पनि हो, दैनिक ५५ देखि ६० बुलेट ग्यास नेपाल भित्रिरहँदा पनि आम उपभोक्ताले एक सिलिण्डार ग्याँस पाउँन नसक्नु आफैंमा रहस्यको विषय बनेको छ । यो ग्याँसमा भैरहेको तीव्र कालोबजारी र पहुँचवालाहरुले मात्र ग्यास पाइरहेको बलियो तथ्य पनि भएको उपभोक्तावादीहरु बताउँछन् ।

नाकाबन्दीपछि सर्वसाधारणको आशाको केन्द« बनेको नेपाल आयल निगम भने पुरानै आश्वासन दोहोर्याएर बसेको छ । निगमका अनुसार केही दिनयता ग्यासको लोडिङमा सुधार हुदै गएको र अहिले ५५ देखि ६० वटा बुलेट ग्यास आयत हुने गरेको छ । त्यसैले ग्यास सहज हुने प्रक्रियामा रहेको निगमका निमित्त निर्देशक मुकुन्द घिमिरेको भनाइ छ ।

अनुगमन फितलो भएको उपभोक्तावादीको गुनासो र सहज हुने प्रक्रियामा रहेको छ भन्ने निगमको आश्वासनले अझै केहि दिन ग्याँस सहज नहुने प्रष्ट पार्दछ । तर सर्वसाधारणको धैर्यताको बाँध फुट्नु अगावै सरकार सचेत हुन भने आवश्यक छ ।

 

 

LIVE TV