७ चैत्र २०७२, आईतवार

वीरगन्ज बाइपास सडकखण्डको ब्रह्मचोकमा आज अपराह्न ट्याङ्करले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।

bike-accident
रक्सौलबाट इन्धन बोकी अमलेखगन्जतर्फ जाँदै गरेको ना२ख५३२५ नंको ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको ना९प १४८९ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्सा पटेर्वा सुगौली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान लक्ष्मणप्रसाद यादवको घटनास्थलमा नै मृत्यु भएको हो ।

श्रीमतीलाई उपचार गराई चौकीतर्फ फर्किंदै गरेका प्रहरी जवानलाई ट्याङ्करले अपराह्न २ः१५ बजे ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार यादवकी श्रीमती लक्ष्मीदेवीसमेत घाइते भएकी छन् ।

घाइते श्रीमती यादवको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भएको वडा प्रहरी कार्यालय श्रीपुरका इन्चार्ज प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिनुभयो । ठक्कर दिने ट्याङ्कर जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा राखिएको छ भने प्रहरी जवान यादवको शवपरीक्षणका लागि उपक्षेत्रीय अस्पतालमा लगिएको छ । (तस्बिर संलग्न छ ।) रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV