
जाजरकोट, यहाँका पूर्वसभासद् भक्तबहादुर शाह बिहान उठ्ने बित्तिकै बारीमा जान्छन् । आफूले लगाएका विभिन्न खेतीको गोडमेल र सिँचाइमा व्यस्त हुन्छन् ।
हातमा कुटो, कोदालो र हैन्डपु्रनर लिएर बिरुवाको संरक्षण तथा गोडमेल गर्ने शाह बिहानभरि काम सकेर दिनभर अन्य काममा व्यस्त रहन्छन् । विगत पाँच वर्षदेखि शाहले यही कार्यलाई निरन्तरता दिँदै आएका छन् । आफ्नो परिवारजस्तै माया गर्छन् उनले मिश्रित खेती व्यवसायलाई । आर्थिक उन्नतिबिना केही पनि काम गर्न सम्भव नदेख्ने पूर्वसभासद् शाह आर्थिक उत्पादनको काम आफैँले सुरु गरेर गाउँकै नमुना बनेका छन् ।
चार वर्ष पहिला आफ्नो १८ रोपनी जग्गामा केरा र आँपको खेती सुरु गरेका शाहले भेरीमालीका नगरपालिका–४ बोहरा जाजरकोटमा ४० रोपनी जग्गामा विभिन्न बैंकबाट रु ३० लाख ऋण लिएर विभिन्न बिरुवा, फलफूल र तरकारी खेतीलगायतको मिश्रित खेती सुरु गरेका छन् । अठार रोपनी आफ्नो जग्गा र २२ रोपनी भाडामा लिएर उनले मिश्रित खेती सुरु गरेका छन् ।
डोल्पा–जाजरकोट सडकसँग जोडिएको जग्गामा केरा, आँप, अम्बा, कागती, अमला, लिची, राजवृक्ष, मेवा, जरेनियम, लेवनग्रास, रोजमेरी, पाउलोनिया, चिउरी, जैतुन, कफी, स्टीविया, चिया, रुखसिमी, एवोकाड, जापानिज आरु, अडेर, अनार, अलैँची, भुइँकटहर, वेद, बरालो, वास, जम्बो, रिटा, खयर, मेदी, न्युरो, अदुवा, बेसार, लसुन, उखु, अमलिसो, बर्दी, बाबियो, अङ्गुर, आलुलगायतको मिश्रित खेती गरेका छन् ।
कफी, कागती, अमला, वास, बरलो, खयरलगायतका बिरुवाको नर्सरी गरेर घरबाटै बिरुवा बिक्री वितरण गरिरहेको शाहले बताए । नर्सरीबाट मात्र बिरुवा बिक्री गरेर वार्षिक रु एक लाख आम्दानी हुने गरेको उहाँको भनाइ छ । हजारी, मुग्रे, मालभोग, जोगिनी जातलगायतका केरा फल्छन् बारीमा । केरा, आँप, बेसार, अदुवा, लसुन घरबाटै बिक्री हुन्छ । यसबाट रु एक लाख बढी आम्दानी हुन्छ ।
जिल्ला कृषि विकास कार्यालयकोे प्राविधिक सहयोगबाहेक अरु कसैबाट सहयोग नलिएको शाह बताउनुहुन्छ । आफ्नै वरिपरि थुप्रै आर्थिक उत्पादनका सम्भावना रहेको र यसलाई सदुपयोग गर्नकै लागि आफूले मिश्रित खेती गरेको शाह बताउनुहुन्छ । रोजमेरीबाट तेल, मसला हुन्छ । जुरेनियमबाट सुगन्धित तेल, जैतुनबाट खाने तेल तथा पाउलोनियाबाट काठको काम हुन्छ ।
शाह पहिलो संविधानसभाको निर्वाचनमा एकीकृत नेकपा (माआवादी)का तर्फबाट जाजरकोट क्षेत्र नं २ बाट सभासद् बन्नु भएको थियो । रासस