
जिल्ला विकास समिति धनुषामा सौर्य बत्ती जडानको रकममा अनियमितता भएको पाईएको छ । गलत डिजाईनको आधारमा जडान गरिएको सौर्य बत्ती सात महिना भईसक्दा पनि बल्न नसकेपछि अनियमिततको रहस्य खुलेको हो
जिल्ला बिकास समितिको कार्यालय धनुषले .४५ लाख रुपैयाँको लागतमा जनकपुरको गंगासागरको डिलमा चारैतिर सौर्य ऊर्जामा आधारित बत्ती जडान गरेको छ । तर जडान सम्पन्न भएको ७ महिना बित्दा समेत बत्ती भने बलेको छैन ।
स्थानीय निकायको बजेटमा निर्मित सौर्य ऊर्जाबाट गंगासागरको डिलमा चारैतिरको २३ वटा पोलमा ४६ वटा बत्ती जडान गरिएको छ । तर अधिकांश बत्ती बलेका छैनन । .४५ लाख रुपैयाँको लागतमा जनकपुरकै शाह ईलेक्ट्रिकल्सले सौर्य ऊर्जामा आधारित बत्ती जडानको ठेक्का पाएको थियो । काठमाण्डौंको बसुन्धरास्थित ईनर्जि ट्रेड कन्सल्टेन्टले ५ लाख रुपैयाँमा गंगासागरको सौर्य ऊर्जामा आधारित खम्बा तथा बत्तीको डिजाईन तयार गरेको हो । डिजाईनकै लागिमात्रै जिविस धनुषाले ईनर्जि ट्रेड कन्सल्टेन्ट बसुन्धरालाई पाँच लाख रुपैयाँ भुक्तानी दिईसकेको जिविस लेखाशाखाले जनाएको छ । तर डिजाईनमै समस्या देखिएकोले बत्ती बल्न नसकेको धनुषाका स्थानीय विकास अधिकारी रामकृष्ण उप्रेतीले बताउँनुभयो ।
बत्ती नबल्दा ठेकेदारको रकम समेत रोकिएको जनाउँदै उनले कन्सल्टेन्सीलाई बोलाएर मर्मत सुधार गरिने बताउँनुभयाृ । निर्माण कार्यको साईट ईन्चार्ज एवम् इन्जिनियर अजित झाका अनुसार ५० एम्पीयरको ब्याट्रीमा २० वाटको बत्तीले लोडलिने भएपनि कन्सल्टेन्सीले तयार गरेको डिजाईन बमोजिम ५० एम्पीयरको ब्याट्रीमा ४० वाटको बत्ती जडान गरिएकोले गंगासागरको ४५ लाखको योजना नै धराशायी हुन पुगेको हो ।
धनुषा निर्वाचन क्षेत्र नं ४ का सांसदहरुको निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकममा आधारित योजना असफल हुन लाग्दा सांसदहरु समेत बोल्न सकेका छैनन् । ठेकेदार कम्पनी शाह ईलेक्ट्रिकल्सले भने रकम फर्छर्यौटका लागि जिविस धनुषामा ताकेता दिएकोे छ । निर्माण कार्य सम्पन्न भएको सात महिनासम्म कुनै चासो नलिएको जिविस धनुषाले हाल आएर योजना कार्यन्वयनका लागि ठेकेदार कम्पनी र कन्सल्टेन्सीसँग स्पष्टीकरण मागेको छ ।