
हिमालपारिको जिल्ला मनाङमा ठूलो आकारको क्षेत्रीय रंगशाला निर्माण हुँदै, रंगशाला निर्माण भएपछि देशकै खेल क्षेत्रले नयाँ वातावरण पाउँने विश्वास
मनाङ-बाहै्र महिना हिऊँ परिरहने मनाङमा खेल पर्यटकलाई आकर्षित गर्ने उदेश्यले क्षेत्रीयस्तरको खेलमैदान निर्माण गरिएको छ । अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा राष्ट्रिय तथा क्षेत्रीय स्तरका विभिन्न प्रकारका खेलहरु खेलाउन मिल्ने गरि जिल्ला खेलकुद विकास समितिले खेलमैदानको निर्माण गरेको हो ।
हिमालपारीको जिल्ला मनाङमा क्षेत्रीयस्तरको खेलमैदान निर्माण भएपछि जिल्लाबासीहरु खुशी भएका छन् । देशकै खेल क्षेत्रमा नयाँपन दिने उद्धेश्यले मनाङको तिमाङमा क्षेत्रीयस्तरको खेलमैदान निर्माण गरिएको हो । सुगम जिल्लाहरुमा पनि अहिलेसम्म ठूलो साइजको खेलमैदान नहुँदा खेल क्षेत्र नै निराश भइरहेको अवस्थामा हिमालपारीको जिल्ला मनाङमा भने ठूलो साइजको खेल मैदानको निर्माण गरिएको छ । स्थानीयहरुको पहलमा चामे गाउँ विकास समिति वडा नम्बर ३ तिमाङ गाउँमा काठमान्डौमा रहेको रङ्गशालाकै साइजमा खेल मैदान निर्माण गरिएको हो तिमाङ गाउँका स्थानीयहरुले आफ्नो ३० रोपनी जग्गा निशुल्क रुपमा जिल्ला खेलकुद विकास समिति मनाङलाई पास गरिदिएपछि समितिले खेलमैदानको निर्माण कार्य प्रारम्भ गरेको थियो । कुल एक सय ३० मिटर लम्बाई र एकसय १५ मिटर चौडाई भएको खेलमैदानको अहिले सम्याउने कार्य भइरहेको मनाङ खेलकुद विकास समितिका अध्यक्ष सिंहबहादुर गुरुङले जानकारी दिनुभयो ।
कुल १ करोड ५० लाख रुपैयाँको अनुमानित लागतमा निर्माण गर्न लागिएको यस खेलमैदानमा अहिलेसम्म ४० लाख रुपैयाँ खर्च भइसकेको खेलकुद विकास समिति मनाङका कार्यालय प्रमुख एवं मनाङ फुटवल संघका सचिव दिनबहादुर गुरुङले जानकारी दिनुभयो ।
खेल मैदान निर्माणका लागि जिल्ला विकास समिति मनाङ, राष्ट्रिय खेलकुद परिषद, मनाङ मस्र्याङ्दी क्लव, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप, संरक्षण क्षेत्र ब्यवस्थापन मनाङ, चामे, बगरछाप, थोंचे, धारापानी गाविसहरुले आर्थिक सहयोग गरेका छन् । खेल मैदानभित्र मञ्च निर्माणको कार्य, घाँस उमार्ने, चारैतिर पर्खालको निर्माण गर्ने लगायतका कामहरु पनि तिब्र गतिमा बढिरहेको छ । खेल मैदानको निर्माण कार्य अगाडि बढेपछि मनाङका खेलाडीहरु निकै उत्साही भएकाछन् ।
माथिल्लो मनाङको पिसाङ गाउँमा ११ साइजको ठूलो खेलमैदान भएपनि सदरमुकाम चामेबाट अपायक भएकोले जिल्ला खेलकुद विकास समिति मनाङले तिमाङमा क्षेत्रीयस्तरको खेलमैदान निर्माण गरेको जिल्ला खेलकुद विकास समिति मनाङले जनाएको छ । खेल मैदान निर्माण सम्पन्न भएपछि मनाङमा राष्ट्रियस्तरका खेलहरु खेलाउन सकिने बताइएको छ ।