७ चैत्र २०७२, आईतवार

ललितपुर, कहिले ल्यापटप त कहिले बन्दुक अनि कहिले हेलिकप्टर उडाउनमा समय दिँदै आउनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड आज काष्ठकलामा प्रयोग हुने नेपाली परम्परागत औजारमा रमाउनुभयो ।

Prince-Harry-at-patan
काष्ठकला निर्माणमा मुख्य रुपमा प्रयोग हुने औजार समाउँदै ३२ वर्षीय परोपकारी ह्यारीले भन्नुभयो, “तस्बिरमा तपाईंहरुको सुन्दर हातले तयार गरेका उत्कृष्ट कला हेरेर म औधि रमाउँथे, यसको प्रशंसा गर्थेँ, आज तपाईंहरुसित प्रत्यक्ष भेट गर्दा खुसीको कुनै सीमा नै छैन ।”

गत वैशाख महिनामा नेपालमा गएको भूकम्पले क्षति पु¥याएको विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पाटन स्मारक क्षेत्रको आज अवलोकनका क्रममा ह्यारीले पुनःनिर्माणमा जुटेका कालीगढसित त्यसबारे जानकारी लिनुभयो । राजकुमार ह्यारीले क्रममा सो क्षेत्रमा झन्डै पौने दुई घन्टा बिताउनुभयो ।

अहिले पुरातत्व विभागले स्मारक क्षेत्र अन्तर्गतका मुख्य स्थल मूलचोक, सुन्दरीचोक र भण्डारखाल बगैँचामा पुनःनिर्माण अगाडि बढाइरहेको छ । भूकम्पले सो क्षेत्रका राधाकृष्ण मन्दिर, हरिशङ्कर मन्दिर, चारनारायण मन्दिर र सोह्रखुट्टे पाटीलाई पूर्णरुपमा क्षति पु¥याएको थियो भने विश्वनाथ, भीमसेन मन्दिर, कृष्ण मन्दिर, तलेजु मन्दिरलगायतमा क्षति पु¥याएको थियो ।

काठमाडाँै भ्याली प्रिजभेसन ट्रस्ट मार्फत विभागले पुनःनिर्माणका काम बढाएको छ । राजकुमार ह्यारीले भत्किएका संरचनाका ऐतिहासिक पक्षको अभिरुचिपूर्वक जानकारी लिनुभएको थियो । भत्किएका संरचनालाई देखेर राजकुमार भावुक र चिन्तित देखिनुहुन्थ्यो । अब यी संरचना कसरी तयार गर्दै हुनुहुन्छ भनेर राजकुमार ह्यारीले कालीगढसित प्रश्न समेत गर्नुभएको थियो ।

भण्डारखाल बगैँचाका वरिपरि काम गरिरहेका कालीगढसित भलाकुसारी गर्ने क्रममा ह्यारीले सो जिज्ञासा राख्नुभएको थियो । सो अवसरमा कालीगढले चलाइरहेका औजारलाई राजकुमार ह्यारीले मागेर त्यसको चलाउने तरिकाबारे उत्सुकता देखाउनुभएको थियो । कालीगढले राजकुमार ह्यारीलाई आफ्ना सीप र पौरखलाई पुनःनिर्माणमा उपयोग गर्ने जानकारी दिनुभएको थियो ।

उहाँले भूकम्पले क्षति पु¥याएका क्रमशः मूलचोक, सुन्दरीचोक र भण्डारखाल बगैँचा क्षेत्रको अवलोकन गर्नुभएको थियो । सो परिसरमा १९ स्मारक छन् । यसै स्मारक क्षेत्रलाई समेटी युनेस्कोले सन् १९७९ मा विश्वसम्पदा सूचीमा राखेको थियो । कलाकौशलका लागि सो क्षेत्र विश्वप्रसिद्ध छ ।

राजकुमार ह्यारीका पिता चाल्र्सले पनि विसं २०३९ मा नेपाल भ्रमण गर्दा सो स्मारक क्षेत्रको भ्रमण गर्नुभएको थियो । राजकुमार ह्यारीले सो क्षेत्रमा उपस्थित स्थानीय बासिन्दालाई अभिवादन समेत गर्नुभएको थियो । ‘हाई ह्यारी’ भन्दै हात मिलाउन अगाडि बढेका स्थानीय युवासित हात मिलाउन समेत राजकुमारले भ्याउनुभएको थियो । स्थानीय बूढापाकाले भने ह्यारीलाई नेपाली टोपी उपहार दिएका थिए ।

खुलेर कुराकानी गर्न रुचाउने ह्यारीले सो क्षेत्रमा आएका विदेशी पर्यटकसित भलाकुसारी समेत गर्नुभएको थियो । आफ्नो देश बेलायतमा भेट गर्न नपाएका ह्यारीसित नेपालमा हात मिलाउन पाएकामा डेभिडका परिवार औधि खुसी देखिन्थे । उनीहरु आज नै सो क्षेत्रमा घुम्न निस्केका थिए । पर्यटकले ‘प्रिन्स ह्यारी, आइएम फ्रम युके’ भनेपछि राजकुमार ह्यारीले करिब दुई मिनेट उनीहरुसित कुराकानी गर्नुभएको थियो ।

अपराह्न १२ः३० बजे सो क्षेत्रमा ह्यारी पुग्नु हुँदा नेवारी वेशभूषामा सजिएका पञ्चकन्याले स्वागत गरेका थिए ।

राजकुमार ह्यारीले आजै ललितपुरको हिरण्यवर्ण महाविहार(क्वावहा) गई त्यसका बारेमा जानकारी लिनुभयो । नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक मन्दिरमध्ये सो मन्दिर पनि एक हो । पटक पटक जीर्णोद्धार हुँदै आएको सो मन्दिरलाई पनि गत वैशाख महिनामा गएको भूकम्पले क्षति पु¥याएको थियो ।

राजकुमार ह्यारीका साथमा नेपालका लागि बेलायती राजदूत रिचर्ड मरिस पनि सहभागी हुनुुुहुन्थ्यो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV