
गोरखा बजारमा पानीको हाहाकार भएपछि समस्या हल गर्न दरौँदी नदीको पानी ल्याइने भएको छ ।
बेनीखोला र दरौँदी नदीको सङ्गमस्थल नजिकैबाट पाँच ठाउँमा लिफ्टिङ गरी गोरखा बजारमा खानेपानी ल्याउने प्रक्रिया सुरु भएको हो । बजारमा जनसङ्ख्या बढ्दै गएको र खानेपानीका स्रोत सुक्दै गएपछि समस्या बढेको छ । उक्त आयोजना निर्माण भएपछि बजारका करिब तीन हजार १२१ घरधुरीका २१ हजार ८०० जनसङ्ख्या लाभान्वित हुनेछन् ।
गोरखा नगरपालिका–१ देखि ८, वडा नम्बर १२ को फिनाम र वडा नम्बर १४ को नारेश्वर गाउँमा खानेपानीको सुविधा पुग्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख नारायणप्रसाद आचार्य बताउनुहुन्छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी रु २४ करोड आठ लाख ६२ हजारको लागतमा सो आयोजना निर्माण हुन लागेको हो ।
दैनिक निरन्तर १५ घन्टासम्म पानी तान्न सकिने पम्प जडान गरिने छ भने एक दिनमा १६ लाख ३४ हजार लिटर पानी सङ्कलन गरिने छ । रासस