७ चैत्र २०७२, आईतवार

पछिल्लो समय तराईमा बालकको अहपहरण र हत्याका घट्नाहरु बढेका छन् । पछिल्लो तीन महिनामा तराईमा मात्र चार जना बालकको अपहरणपछि हत्या भएको छ । आजै पनि धनुषाको जनकपुरमा एक बालकको हत्या भएको छ ।
जनकपुर उपमहानगरपालिका १९ वेंगाशिवपुरका मोहम्मद असलम राईन कवारीका ५ वर्षका छोरा असरफ राईनको अपहरणपछि हत्या भएको बालकका आफन्तले बताएका छन् । शनिबार बिहान १० बजे घरबाट खेल्ने क्रममा बेपत्ता भएका असरफको शव आज बिहान घर नजिक गहुँ खेतमा हत्या गरेर फालिएको अवस्थामा फेला परेको हो । बालकको कुटपीट तथा घाँटी थिचेर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । बालकको टाउकोमा चोट लागेको छ ।
बालक असरफका बुबा असलम वैदेशिक रोजगारको शिलशिलामा कतारमा छन् । एक छोरा र दुई छोरी रहेको असरफका परिवारमा एक मात्र छोराको हत्या भएपछि आमा अपसना खातुन अचेत भएकी छिन् । बालकका काका सोमन राईनले असरफ घरबाट शनिबार बिहानै बेपत्ता भएको र आफूहरुले जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराई आफन्त नातागोता कहाँ खोजखबर गर्दा फेला नपरेको र आज बिहानै गहुँ खेतमा बालकको शव हत्या गरेर फालिएको अवस्थामा फेला परेको बताउनुभयो । बालकको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक नकुल खरेलले जानकारी दिनुभयो ।

LIVE TV