७ चैत्र २०७२, आईतवार

अवैधानिक रुपमा कुबेत हुँदै साउदी अरब आई घरेलु कामदारका रुपमा बन्दी जीवन व्यतित गरेका सातजना नेपाली महिलाको उद्धार गरिएको छ । लामो समयदेखि साउदीमा अलपत्र परेका ती नेपाली महिलाको रियादस्थित नेपाली दूतावासको पहलमा उद्धार गरी स्वदेश फर्काइएको हो ।
घरेलु कामदारका रुपमा साउदी पु¥याइएका नेपाली महिलाहरुले घरधनीको शोषण र यातना सहन नसकेपछि घरबाट भागेर राजदूतावास पुगेका थिए । महिनौँदेखिको काम गरेको पारिश्रमिक नदिइएको, शारीरिक तथा मानसिक यातना दिइने गरेका कारण जीवन रक्षाका लागि उनीहरु साउदी नागरिकको घरबाट भागेका थिए । उनीहरुको उद्धार पश्चात् आवश्यक कानुनी प्रक्रिया पूरा गरी यात्रा अनुमतिपत्र बनाई स्वदेश पठाइएको हो । उनीहरुलाई केही वर्ष कुबेती नागरिकको घरमा कामदारका रुपमा राखिएको र त्यसपश्चात् कुबेतबाट भ्रमण भिसामा साउदी ल्याई कामदारका रुपमा राखिएको थियो ।
सरकारले घरेलु महिला कामदारलाई कानुनी रुपमा साउदी अरब आउन प्रतिबन्ध लगाएको भए पनि गैरकानुनी बाटो हुँदै साउदी अरब जाने क्रम बढ्दै गएको छ । त्यसैगरी घरेलु महिला कामदार आपूर्ति गर्न कुबेतमा कार्यालय स्थापना गरेर बसेका नेपाली एजेन्टहरुले समेत मोटो रकम लिएर कुबेतमार्फत साउदी अरबमा भिजिट भिसामा घरेलु महिला कामदार पठाउने गरेको पाइएको छ ।

LIVE TV