
स्वस्थ जीवनका लागि स्वस्थ मुख भन्ने नारासहित आज विश्व मुख स्वास्थ्य दिवस मनाइँदैछ । दाँत तथा मुख स्वास्थ्यको महत्व तथा आवश्यकतालाई जोड दिँदै हरेक वर्ष मार्च २० तारिखका दिन विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिन्छ ।
दिवसका अवसरमा नेपाल डेन्टल एशोसिएसनले काठमाडौंमा विशेष सचेतना कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सहभागीहरुले मुख र दाँतको हेरचाहमा ध्यान दिन आग्रह गरेका छन् । दिनमा ६ मिनेट समय दिन सकेमा दाँत तथा मुखका ९० प्रतिशत रोगबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ । दाँत तथा मुखमा समस्या आएपछि मात्र जचाउन जाने प्रवृत्तिले मुख तथा दाँतका बिरामी बढ्दै गएको एशोसिएसनका उपाध्यक्ष डा. सुभित मास्केको भनाई छ । दाँतमा समस्या आउँदा वा गिजा तथा मुखमा संक्रमण हुँदा निस्कने विकार रगतमा मिसिएर रक्तचाप, जोर्नी तथा हड्डीको रोग, मधुमेह, मृगौला, मुटु तथा फोक्सोमा समेत असर गर्न सक्ने दन्त रोग विशेषज्ञहरुको भनाई छ ।
तथ्यांक अनुसार ९० प्रतिशत बढी मानिस जीवनकालमा दाँत सड्ने, मुख गन्हाउने, दाँतबाट रगत आउनेदेखि क्यान्सरसम्मका मुखका रोगबाट पीडित हुने गरेको पाइन्छ । दाँत तथा मुख स्वस्थ राख्न बिहान बेलुकी खाना खाइसकेपछि फ्लोराइडयुक्त मन्जनले ब्रस गर्ने, अरु बेला पनि केही खाएपछि कुल्ला गर्ने तथा हरियो सागपात र रेसादार फलफूल तथा तरकारी समावेश सन्तुलित खाना खानुपर्ने चिकित्सकहरुको सुझाव छ । बालबालिका ३ वर्ष पुगेपछि हरेक ६–६ महिनामा दाँत परीक्षण गराउन चिकिस्तसकहरुले सुझव दिएका छन् ।