७ चैत्र २०७२, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो चीनको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली जनगणतन्त्र चीनको राज्यपरिषद्का प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जान लाग्नुभएको हो । रोल
चैत ७ देखि १४ गतेसम्म हुन लागेको चीनको औपचारिक भ्रमणमा प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा र शिक्षामन्त्री गिरिराजमणि पोखरेल रहनुहुनेछ । यस्तै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, व्यवस्थापिका–संसद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, नेपाल सरकार वरिष्ठ अधिकारी, व्यापारी र सञ्चार प्रतिष्ठानका प्रतिनिधिहरु समेत भ्रमण टोलीमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नुहुनेछ । चीनको जनबृहत् प्रेक्षालयमा आयोजना हुने स्वागत समारोहमा चैत ८ गते सोमवार उहाँले आफ्ना समकक्षी लीसँग वार्ता गर्नुहुने छ । भेटवार्तामा पारस्परिक हित र साझा चासोका विषयमा द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। औपचारिक वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुबै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

Kp-oli-1
प्रधानमन्त्रीले चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका अध्यक्ष यु झेङसेङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्रीले रेनमिन विश्वविद्यालयमा विद्वत्वर्ग, प्राज्ञ र व्यापारी वर्गको उपस्थितिमा आयोजना हुने ’बेल्ट एण्ड रोड इनिसिएटिभ्स’ सन्दर्भमा नेपाल र चीन सम्बन्ध विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुने कार्यक्रम पनि रहेको छ । उहाँको उपस्थितिमा सांघाइ सहयोग सङ्गठन (एससीओ) को संवाद साझेदारी प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । साथै उहाँले चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषदमा नेपाली र चिनियाँ व्यापारीको उपस्थितिमा आयोजना हुने सभालाई सम्बोधन गर्नुुहनेछ । प्रधानमन्त्री ओली चीनका लागि नेपाली राजदूत डा महेश मास्केले चैत ९ गते मंगलवार बेइिजिङस्थित नेपाली दूतावासमा आयोजना हुने स्वागत भोजमा सरिक हुनुहुनेछ ्। सोही अवसरमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत तय भएको मन्त्रालयले शनिवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीले हेनान प्रान्तको बोआओमा आयोजना हुने एसियाका लागि बोआओ मञ्चको ‘एसियाको नयाँ भविष्य ः नवीन आयाम, नवीन दृष्टिकोण’ विषयक सम्मेलनलाई चैत ११ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सोही दिन अपराह्न उहाँले सान्याको नान्सान उद्यानस्थित नेपाल मण्डपको भ्रमण गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले सिचुवानको छेन्दु र सान्सी प्रान्तको सियानमा प्रान्तीय एवम् नगरपालिकाका नेताहरूलाई भेट्नुका साथै व्यापारी समुदायलाई सम्बोधन गर्नुुहनेछ । भ्रमण टोलीले सिचुवान प्रान्तमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको पुनर्निर्माण र जलविद्युत् अयोजनाको अवलोकन गर्नुहुन्ेछ ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिनिधमण्डल चैत १४ गते छेन्दुबाट स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV