
काठमाडौँ- लमजुङ सदरमुकाम बेसीशहरसँगै रहेको बाँझेखेत– १, खासुरमा आफ्नै छोराले बुबा र माइलो बुबाको हत्या गरेका छन् । छोराले दाउराको चिर्पटले हानेर दुई बाबुहरुको हत्या गरेको हो । अन्धाधुन्दा गरेको प्रहारबाट आफ्नै आमासहित २ जना घाइते भएका छन् ।
३६ बर्षीय तीर्थबहादुर घलेले दाउराको चिर्पट, ढोकाको गजबारले प्रहार गर्दा ७६ बर्षीय आफ्नै बुबा मीनबहादुर घले र माइलो बुबा ८४ बर्षीय धनबहादुर घलेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शम्भूप्रसाद ढकालले बताउँनुभयो । आमा ७६ बर्षीया बर्दी घले र माइलीआमा हिमचुली सख्त घले घाइते छन् ।
शुक्रबार साँझ ८ बजेतिर तीर्थबहादुरको प्रहारबाट घाइते भएका मीनबहादुर र धनबहादुरको उपचार गर्न नसक्ने भन्दै चितवन मेडिकल कलेज भरतपुरले फिर्ता पठाएको गाउँलेहरुले बताएका छन् । चितवनबाट बेसीसहरतर्फ ल्याउँदै गर्दा शनिबार बिहान साँढे ९ बजेतिर बाटोमा दाजुभाइको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता प्रहरीले घटनामा संलग्न तीर्थबहादुरलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार राती झगडा गरेर आफ्नै बुबामाथि तीर्थबहादुरले सुरुमा ढोकामा लगाउने गजबार प्रहार गरेका थिए । त्यसपछि आमालाई लखेट्दै लगेको र पालैपालो आफन्तलाई प्रहार गरेका थिए । शवको पोष्टमार्टमको लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको छ । घाइते आमा बर्दी र माइलीआमा हिमचुलीको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।