
काठमाडौँ- भारतमा चलिरहेको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत शनिबार आयोजक भारत र पाकिस्तान खेल्दैछन् । यी दुई बिचको खेल कोलकाताको इडेन गार्डेनमा हुनेछ । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।
सुपर टेन अन्तर्गत समूह ‘दुई’ मा रहेको भारत पहिलो खेलमा न्युजिल्याण्डसँग ४७ रनले पराजित भएको थियो । पाकिस्तानले भने पहिलो खेलमा बंगलादेशलाई ५५ रनले हराएर विजयी सुरुवात गरेको छ । भारत र पाकिस्तानबिचको खेललाई दुवै देशका खेलाडी र समर्थकले जित हार भन्दा पनि प्रतिष्ठाको लडाईँको रुपमा लिएका छन् ।
भारतलाई प्रतियोगितमा रहने सम्भावना बलियो बनाउन यो खेल जित्नै पर्ने दबाब छ । भारत र पाकिस्तान एक दिवसीय तथा ट्वेन्टी–ट्वेन्टी विश्वकपमा अहिलेसम्म १० पटक प्रतिस्पर्धा गरेका छन् । ती सबै खेलमा भारत विजयी भएको छ । पाकिस्तान शनिबारको खेलमा भारतलाई हराउँदै यो एकोहोरो इतिहासा रोक्ने पक्षमा छ ।
एक दिवसीय विश्वकपमा ६ पटक खेलको खेलमा सबैमा पाकिस्तान हारेको छ । यस्तै ट्वेन्टी–ट्वेन्टी विश्वकपमा अहिलेसम्म खेलका चार खेलमा पनि भारतले पाकिस्तानलाई हराएको छ । भारतीय टिम महेन्द्रसिंह धोनी तथा पाकिस्तानी टिम शाहिद अफरिदीको कप्तानीमा मैदान उत्रनेछ । दुवै देशका क्रिकेट टिम र समर्थकले दुई देशबिचको खेललाई देशकै जित हारको रुपमा लिने गरेका छन् । पाकिस्तानी टिम सुरक्षाको कारण देखाउँदै ढिलो गरी भारत आएको थियो । दुवै देशका खेलाडीले शुक्रबार बेलुका अबेरसम्म इडेनगार्डेनमा अभ्यास गरेका थिए ।
– एजेन्सीको सहयोगमा