
भक्तपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले राप्रपा र राप्रपा नेपालबीच पार्टी एकीकरणको तयारी अन्तिम तयारीमा पुगेको बताउनुभएको छ ।
आज राप्रपा नगरकोट नगरपालिकाले सुुडालमा आयोजना गरेको कार्यकर्ता भेला कार्यक्रममा उहाँले दुई पार्टीबीच अब छिट्टै एकीकरण हुने बताउनुभएको हो ।
भ्रष्टाचार र कालोबजारी नियन्त्रणमा सरकार असफल भएको आरोप लगाउँदै उहाँले विनाशकारी भूकम्प गएको ११ महिना बित्दा पनि सरकारले भूकम्प पीडितलाई राहत वितरण गर्न नसक्नु सरकारको ठूलो कमजोरी भएको बताउनुभयो ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यद्वय रवीन्द्रप्रताप शाह र सानुकाजी हेक्का, राप्रपा नगरकोट नगर समिति अध्यक्ष धनबहादुर लामालगायतले सरकारले तत्काल भूकम्प पीडितलाई राहत पुनःनिर्माणको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनभयो । रासस