६ चैत्र २०७२, शनिबार

नेपाली कांग्रेसलाई सरकारमा सहभागी हुन एमाले महासचिव पोखरेलको आग्रह, संविधान कार्यान्वयनका लागि सहमतिको राष्ट्रिय सरकार आवश्यक

ishwor-pokharel

विराटनगर- नेकपा एमालेका महासचिव इश्वर पोखरेलले नेपाली कांग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाँले संविधान कार्यान्वयनका लागि प्रमुख राजनैतिक दलहरु सम्मिलित सहमतिको राष्ट्रिय सरकार आवश्यक भएको बताउनुभयो ।

विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले लोकतान्त्रिक पद्धतिमा मर्यादित प्रतिपक्ष चाहिने भएपनि अहिले संविधान कार्यान्वयनको चुनौति रहेको बताउनुभयो । उहाँले मुलुकमा विद्यमान समस्या समाधान गर्नुपर्ने अवस्था रहेकाले प्रमुख राजनैतिक दलहरु बीच सहमति र सहकार्यको आवश्यकता रहेको बताउनु भयो ।

महासचिव पोखरेलले मधेसका मुद्दाहरु बारे वार्ता र छलफल गरेर समस्या समाधान गर्न सरकार तयार रहेको बेला आन्दोलन गरिरहनुको औचित्य नभएको प्रष्ट पार्नुभयो । उहाँले आन्दोलन गर्दा मर्यादित र सामाजिक सद्भाव नखल्बलिने गरी गर्न आग्रह पनि गर्नुभयो ।

महासचिव पोखरेलले प्रधानमन्त्रीको चीन भ्रमण भारत विरोधी नहुने दावी गर्नुभयो । उहाँले दुबै देशसंग नेपालको सम्बन्धलाई सन्तुलित र प्रगाढ बनाउन दुबै देशको पालैपालो भ्रमण गरिएको जानकारी पनि दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV