
गैंडाको खाग ३६९ थान र सामान्य सडेगलेको गैंडाको खुर ४ हजार ७८२ वटा,बाघको छाला ६९ थान, चितुवाको छाला सामान्य सडेगलेको ४९३ वटा, हिउँ चितुवाको छाला ३ थान, हात्तीको दारा १८५ थान छ
चितवन- सरकारले नष्ट गर्ने प्रक्रिया अघि बढाएपछि आज संसदिय टोलीले चितवनको टिकौलीमा रहेका वन्यजन्तुका अखेटोपहार नष्ट गर्ने विषयमा स्थलगत अनुगमन सुरु भएको छ ।
शुक्रबार चितवन आईपुगेको टोलीले आज चितवनको टिकौली र चितवन निकुञ्जको कसरामा भण्डारण गरिएको अखेटोपहारको अनुगमन गरेको वन मन्त्रालयका सहसचिव विजयराज पौडेलले जानकारी दिए ।
अनुगमन टोलीमा व्यवस्थापिका संसदको वातावरण संरक्षण समितिका सभापति जनकराज चौधरीको नेतृत्वमा राजाराम स्यांङतान, कविताकुमारी सरदार, गणेश प्रसाद विमली, दिलमायाँ धामी, दिलिप खवास, परशुराम तामाङ, पार्वत गुरुङ सहभागि छन् । यस्तै टोलीमा पुरुषोत्तम पौडेल, मिठु मल्ल, लिला मगर, समितिका सचिव रवि अर्याल र कर्मचारी रवि अधिकारी समेत सहभागि छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मार्फत वन्यजन्तु अखेटोपहार व्यवस्थापन सम्वन्धी कार्यविधी २०७२ अन्तरगतको सिफारीस समितिले दिएको प्रतिबेदनको अनुसार टोलीले अखेटोपहारको अनुगमन गरिरहेको छ ।
प्रतिवेदन अनुसार हाल अखेटोपहारको केन्द्रिय भण्डारण केन्द्र चितवन निकुञ्जको कसरा र रत्ननगर टिकौलीमा रहेको ससस्त्र वन रक्षक तालिम केन्दमा गैंडाको खाग ३६९ थान र सामान्य सडेगलेको गैंडाको खुर ४ हजार ७८२ वटा रहेको पाईएको छ । यसैगरि बाघको छाला ६९ थान, चितुवाको छाला सामान्य सडेगलेको ४९३ वटा, हिउँ चितुवाको छाला ३ थान, हात्तीको दारा १८५ थान छ ।