काठमाडौँ, आपूर्ति मन्त्री गणेशमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबारबाट हुन लागेको चीन भ्रमणका क्रममा इन्धन आयात गर्नेसम्बन्धी द्विपक्षीय सम्झौताको महत्वपूर्ण आधार तयार हुने बताउनुभएको छ ।
उहाँले सम्झौताको महत्वपूर्ण आधार तयार भएको उल्लेख गर्दै प्रमको भ्रमणको क्रममा आयात सम्झौता नभएपनि निकट भविष्यमा नै हुने स्पष्ट पार्नुभयो । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री पुनले चीनबाट इन्धन आयात गर्नेसम्बन्धी सम्झौता भएरै छाड्ने र कोही कसैले रोक्न नसक्ने उल्लेख गर्र्नुभयो ।
“पूर्व तयारी सबै भएको छ, रोकिनुपर्ने कुनै कारण छैनन् । हामीले सबै निर्णय मुलुक र जनतालाई केन्द्रबिन्दुमा राखेर गरेका छौँ, प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ । राजनीतिक, कूटनीतिक तथा व्यावसायिक विषयमा समेत कुराकानी भएको छ । मलाई विश्वास छ इन्धन आयातसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुन्छ”–मन्त्री पुनले भन्नुभयो ।
यस्तै पछिल्लो दिनमा भारतबाट इन्धन आयात बढेको जानकारी दिँदै उहाँले पेट्रोल सहज भइसकेको र डिजेल पनि एकाध दिनमा नै सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
आज मात्रै भारतका लागू नेपाली राजदूत दीपकुमार उपाध्याय, आपूर्ति मन्त्रालयका उच्च अधिकारी र भारतीय पक्षसँग इन्धन आयात वृद्धि गर्ने सम्बन्धमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।
कुल एक लाख १० हजार किलोलिटर इन्धनको माग गरिएकामा भारतीय आयल कर्पोरेसनले ९० हजार किलोलिटर मात्रै दिएको उल्लेख गर्दै उहाँले विकास निर्माणका काम तीव्ररुपमा अघि बढ्दा करिब २५० हजार किलोलिटरसम्म आवश्यक पर्ने भएकाले थप आयात गरिने छ, भन्नुभयो ।
यस्तै बजारमा अझै खाना पकाउने ग्यासको अभाव भइरहेकातर्फ सरकारको ध्यानाकर्षण भएको बताउँदै मन्त्री पुनले गत फागुनमा २९ हजार मेट्रिक टन आयात भएकामा चैत महिनाका लागि ३३ हजार मेट्रिक टन माग गरिएको बताउनुभयो ।
सात वटै प्रदेशमा इन्धन भण्डारणस्थल बनाउने योजनामा मन्त्रालय रहेको भन्दै उहाँले संयुक्त राष्ट्र सङ्घको प्रावधानअनुसार न्यूनतम ९० दिनसम्म पुग्ने भण्डारण गर्न सकिने गरी तयारी गरिएको उल्लेख गर्नुभयो । चीन सरकारको सहयोगमा पाँचखाल, बट्टार र खैरेनीमा इन्धन भण्डारण स्थल बनाइने र त्यसको अध्ययनसमेत भइसकेको छ, भन्नुभयो । रासस (श्रव्य र तस्बिर उपलब्ध छ)