
भारतमा जारी ट्वान्टी ट्वान्टी विश्वकपमा इंग्ल्याण्डद्वारा दक्षिण अफ्रिका पराजित, जोए रुटको आक्रामक पारीसँगै इंग्ल्याडको कीर्तिमानी जित
काठमाडौँ- भारतमा जारी आइसिसी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत गएरातिको खेलमा इंग्ल्याण्ड विजयी भएको छ । मुम्बइको वानखडे रंगशालमा भएको खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई दुई विकेटले हराएको हो ।
सुपर टेनको समूह ‘एक’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको दुई ३० रनको लक्ष्य इंग्ल्याण्डले दुई बल बाँकी हुँदा ८ विकेट गुमाएर भेट्टाएको हो । इंग्ल्याण्डका जोए रुटले ४४ बलमा ८३ तथा ज्यासन रोयले १६ बलमा ४३ रन बनाए । दक्षिण अफ्रिकाका कायल एबोटले तीन तथा कागिसो राबाडाले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पूरै २० ओभरमा चार विकेट गुमाएर दुई सय २९ रन बनाएको थियो । उसका लागि हाशिम अमलाले ३१ बलमा ५८, जेपी डुमिनिले २८ बलमा नटआउट ५४ तथा क्विन्टन डी ककले २४ बलमा ५२ रन बनाए । इंग्ल्याण्डका मोइन अलीले दुई विकेट लिए । इंग्ल्याण्ड विश्वकपको पहिलो खेलमा वेष्ट इन्डिजसँग पराजित भएको थियो । इंग्ल्याण्डले अब अफगानिस्तानसँग दिल्लीमा आउँदो बिहीबार खेल्नेछ । दक्षिण अफ्रिकाले इंग्ल्याण्ड सामु प्रस्तुत गरेको दुई सय ३० रनको लक्ष्य ट्वेन्टी–ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेटमै अहिलेसम्मकै सर्वाधिक दोस्रो ठूलो लक्ष्य हो जसलाई पछ्याएको टिमले जित हाँसिल गरेको छ ।