
बेलायती राजकुमार ह्यारी शनिबार नेपाल आउँदै हुनुहुन्छ । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई शताब्दी पूरा भएको अवसरमा उहाँ पहिलोपटक नेपाल आउन लाग्नुभएको हो । उहाँ आगामी १० गतेसम्म नेपालमा रहनुहुनेछ । शनिबार नै उहाँ परराष्ट्रमन्त्री कमल थापाले आयोजना गर्ने कार्यक्रममा सरिक हुने कार्यक्रम छ । त्यस्तै भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको भेटवार्ता हुनेछ ।
नेपाल बसाइमा उहाँले पाटन र भक्तपुरका ऐतिहासिक दरबार क्षेत्रको अवलोकनका साथै भूकम्पबाट प्रभावित ऐतिहासिक स्मारकको पुनः निर्माणमा भएको प्रगतिबारे जानकारी लिने नेपालस्थित बेलायती दूतावासले जनाएको छ । त्यस्तै भूकम्पपीडितको अस्थायी पुनः स्थापना केन्द्र, कान्ति बाल अस्पताल र सानोठिमी प्राविधिक शिक्षालयको पनि उहाँले भ्रमण गर्ने दूतावासले बताएको छ । त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन र पोखरास्थित गोर्खा सैनिक क्याम्पमा बेलायती राजमुकुटका निम्ति प्राण त्याग गरेका गोर्खाली सैनिकप्रति श्रद्धाञ्जलि दिने कार्यक्रमसमेत रहेको छ ।
हिमालयको अवलोकन, कास्की पदयात्रा, भूकम्पबाट पीडित गोर्खा सैनिकका परिवारलाई पनि उहाँले भेट्नुहुनेछ । चैत १० गते आयोजना हुने बालिका सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त रूपमा उहाँले उद्घाटन गर्ने कार्यक्रम पनि राखिएको छ ।