५ चैत्र २०७२, शुक्रबार

२०५२ साल फागुन १ गतेदेखि २०६३ साल मङ्सिर ५ गतेसम्म सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारिएको घटनासँग सम्बन्धित हुनेले उजुरी दिन सक्ने

beppata

काठमाडौँ, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता परिएका घटनाको छानबिन गर्न दुई महिना भित्र उजुरी दिन आह्वान गरेको छ ।
आयोगले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउनका लागि आगामी वैशाख २ गतेदेखि जेठ मसान्तसम्म दुई महिना उजुरी गर्न आह्वान गरेको हो ।

व्यक्ति बेपत्ता पारिएका कार्यबाट पीडित व्यक्तिले उजुरी दिनका लागि ११ बुँदे प्रावधान रहेको छ । त्यसमा २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मङ्सिर ५ गतेसम्म सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारिएको घटनासँग सम्बन्धित हुनुपर्ने, उजुरीमा आफूले देखे÷थाहा पाएका सबै कुरा उल्लेख गर्नुपर्ने रहेको छ ।

त्यस्तै, पीडितले आफूसँग भएसम्म प्रमाण उजुरीमा पेस गर्नुपर्ने, उजुरी आयोगको केन्द्रीय कार्यालय वा जिल्लास्थित स्थानीय शान्ति समितिको कार्यालय वा आफ्ना प्रतिनिधिमार्फत दिन सकिनेछ । त्यसका लागि उजुरी फाराम निःशुल्क रुपमा आयोगको वेभसाइड धधध।अष्भमउ।नयख।लउ बाट डाउनलोड गर्न सकिनेछ ।

उजुरी खामबन्दी गरी पेस गर्न सकिनेछ भने कसैले मौखिक रुपमा उजुरी दिन चाहेमा आयोगसमक्ष दिन सक्नेछ । हुलाक, इमेल तथा  पैसा नलाग्ने टेलिफोन १६६००१२२१११ मा उजुरी गर्न सकिनेछ ।

आयोगका प्रवक्ता विष्णु पाठकले बिहीबार आयोगको नियमावली आएकाले काम सुरु गर्न सहज भएको र उजुरी गर्न कुनै दस्तुर नलाग्ने भएकाले तोकिएको अवधिभित्र उजुरी गर्न आग्रह गर्नुभयो ।

आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले नियमावली आएकाले काम गर्नका लागि बाटो खुलेको भन्दै दुई महिनाभित्र व्यक्ति बेपत्तासम्बन्धी सबै घटनाको पीडितले उजुरी दिन सकिने बताउनुभयो ।

सो आयोग २०७१ माघ २८ गते स्थापना भएको थियो । ऐन, नियमावली निर्माणका कार्यले गर्दा आयोगले व्यक्ति बेपत्ताको खोजी कार्य अघि बढाउन सकेको थिएन । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV