५ चैत्र २०७२, शुक्रबार

फोहोरबाट बिजुली उत्पादन गर्ने महानगरपालिकाको परीक्षण परियोजनाले काम थाल्यो, असार मसान्तसम्ममा उपत्यकाको फोहोरबाट १४ किलोवाट बिजुली उत्पादन गरिने ।

ktm nagarpalika

काठमाडौँ- उर्जा चर्चा र चासोको विषय हो । जलविद्युतको धनी देश लोडसेडिङले आक्रान्त भइरहेकै कारण उर्जा सधै चासो र चर्चाको विषय बनेको हो । पानीबाट बिजुली निकालेको अनुभव भएका हामीहरु प्रधानमन्त्रीले हावाबाट बिजुली निकाल्छु भन्दा हावादारी गफ नै भनिदियौं । पछिल्ला केही महिनादेखि फोहोरबाट बिजुली उत्पादन गर्ने कुराहरु आइरहेका छन् । यसलाई पनि धेरैले हावादारी गफ माने । तर काठमाण्डौं महानगरपालिकाले असार मसान्तसम्ममा १४ किलोवाट बिजुली फोहोरबाट उत्पादन गर्ने भएको छ ।

फोहोरबाट बिजुली निकाल्ने कुरा विश्वमा पहिलोपटक भने होइन । विभिन्न देशले फोहोरको सदुपयोग गरि बिजुली निकालेका छन् । तर नेपालमा भने यो पहिलो पटक सुरु गर्न लागिएको हो । हाम्रै छिमेकी भारतमा पनि यो कार्य भइसकेको छ । त्यसैले फोहोरको सदुपयोग गर्न महानगरपालिका लागेको हो ।

२०१४ सालमा युरोपियन युनियनले खोलेको ग्लोबल टेन्डरमा नेपाल सरकारको बोलपत्रबाट स्विकृत गरी भरिएको १ करोड ८२ लाखको टेन्डर नेपालले पाएकाले यसलाई बिजुली उत्पादनमा गर्न खर्च गर्ने उद्धश्यले फोहोरबाट बिजुली उत्पादनको कार्य सुरु हुन लागेको हो । यो परिक्षण परियोजना हो । यसको लागि महानगरपालिका र सरकारले भारतबाट चाहिने अत्याधुनिक प्रविधियुक्त प्लान्ट मगाएर कार्य अघि बढाएको हो । १४ किलोवाट बिजुली निकाल्न ३ टन फोहोरको आवश्यक पर्छ ।

फोहोरबाट बिजुली उत्पदान गर्न कुहिने फोहोरलाई छुट्टयाएर भण्डारण गरिन्छ । त्यसलाई अत्याधुनिक प्रविधि पि.एच काउण्टरमा राखेर कुहाइन्छ । त्यसपश्चात, एउटा ठूलो बेलुनमा त्यसबाट निक्लिने ग्यासलाई भण्डारण गरिने र त्यसभित्र रहेको जेनेरेटर स्टार्ट गरेर बिजुली बालिनेछ । जसरी पानीको फोहोरा र हावाको बहाबबाट बिजुली निक्लिन्छ । त्यसैगरी फोहोरबाट निस्कने ग्याँसबाट बिजुली निक्लिने काठमाडौँ महानगरपालिकाका वातावरण व्यवस्थापक विभागका प्रमुख रविनमान श्रेष्ठले बताउनुभयो ।

धेरैलाई पुरानै परियोजना जस्तै यो पनि हात्ती आयो हात्ती आयो फुस्सा भने झैँ लाग्न सक्छ तर विभागका प्रमुख श्रेष्ठले तीन महिना भित्र सकाइसक्नु पर्ने भएकाले तीव्ररुपमा कार्य बढाएको बताउनुभयो । श्रेष्ठका अनुसार फोहोरबाट बिजुली निकाल्ने परियोजनाको चुनौती भनेको बलुनमा भण्डारण गरिएको ग्यास, बढि मात्रामा निक्लिएमा के गर्ने भन्ने हो ।

उर्जा संकटले दैनिकी नै प्रभावित भइरहेका हामीहरुका फोहोरबाट बिजुली उत्पादनको यो परीक्षण उपलब्धि नै सावित हुन सक्छ ।

 

LIVE TV