
आइसीसी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियामाथि न्यूजिल्याण्डको रोमाञ्चक जीत, सन् २०१० को उपविजेता कङ्गारु टोली छिमेकीसँग ८ रनले पराजित
आइसीसी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले अष्ट्रेलियामाथि ८ रनको रोमान्चक जित हात पारेको छ । प्रतियोगीताको सुपर टेन अन्तर्गत आज भएको खेलमा लगातार दोस्रो जित हासिल गर्दै न्यूजिल्याण्डले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।
भारतको धर्माशालामा भएको प्रतियोगीतामा टस जितेर व्यटिङ रोजेको न्यूजिल्याण्डले १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा अष्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।
सन् २०१० को उपविजेता अष्ट्रेलियाका लागि ओपनर उसमान खाउजाले ३८ तथा मिचेल मार्सले २४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । न्युजिल्याण्डका मार्टिन गुप्टिलले ३९, ग्राण्ट इलियटले २७, केन विलियम्सनले २४ र कुलिन मुन्रोले २३ रन बनाए । अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र जेम्स फ्लक्लनरले समान विकेट लिएका थिए । आफ्नो पहिलो खेलमा भारतलाई हराएको न्युजिल्याण्डको यो लगातार दोश्रो जित हो । पराजित अष्ट्रेलियाको भने न्युजिल्याण्डसँगको खेल नै पहिलो खेल हो । अष्ट्रेलियाले अब सोमबार बंगलादेशसँग खेल्ने छ । न्युजिल्याण्डले भने मंगलबार पाकिस्तानसँग खेल्ने छ ।