५ चैत्र २०७२, शुक्रबार

आधुनिक प्रविधि र विद्युतीय साधनहरुको बढी प्रयोग,बालबालिकाहरुको भिडीयो गेममा बढी लगाव जस्ता कारणले शहरी क्षेत्रका बालबालिकामा आँखाको समस्या बढ्दो अवस्थामा

eye

काठमाडौँ- आँखा उपचारका लागि नेपाल विश्वमै उदाहरणीय मानिन्छ । तर ठूलो समस्या नपरी अस्पताल नपुग्ने नेपालीको वानीले आँखाका रोगीहरु बढ्दै गएको छ । त्यसमाथि बढ्दो प्रविधिको प्रयोगले गर्दा बालबालिकाहरुमा आँखाको समस्या अझ जटिल बन्दै गएको छ ।

सरकारी तथ्यांक अनुसार हाल नेपालमा प्रति दिन ७ जना बालबालिका बिभिन्न कारणले दृष्टि बिहीन हुने गरेका छन् भने ३० हजार भन्दा बढी नेपाली बालबालिका अन्धोपनबाट ग्रसित भएका छन् । अझै पनि ९० हजार बालबालिका बिभिन्न आँखा सम्बन्धी स्वास्थ्य समस्याबाट पीडित रहेको विभिन्न तथ्यांकले जनाएको छ । त्यसैले नेपालमा अन्धोपन एक प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा पर्दै आएको छ । अहिलेको बिभिन्न आधुनिक प्रविधि र विद्युतीय साधनहरुको बढी प्रयोग,बालबालिकाहरुको भिडीयो गेममा बढी लगाव जस्ता कारणले शहरी क्षेत्रका बालबालिकामा आँखाको समस्या बढ्दो अवस्थामा रहेको नेत्रज्योति संघले जनाएको छ ।

कोही शिशुहरू जन्मँदै मोतीविन्दु लिएर आएका हुन्छन् । विशेष गरी महिना नपुगी जन्मेका बालबालिकाहरुमा आँखाको समस्या बढी देखिन्छ । अरु बालबालिकालाई पनि आँखा पाक्ने, टेडो हुने र देख्न छाड्ने, फुलो पर्ने र एलर्जी हुने लगायतका समस्या बढी हुने गरेको छ । संसारमा आँखा उपचार सेवा राम्रो भएको सुचिमा नेपाल अग्रपंक्तिमा पर्दछ । तर समस्या नपरी अस्पताल नपुग्ने नेपालीको वानीले गर्दा आँखामा पनि जटिल समस्याहरु देखा पर्ने गरेका छन् ।

बिशेषज्ञहरुका अनुसार कुनै रोग नदेखिए पनि एक वर्ष नपुग्दै बालबालिकाको आँखा परीक्षण गर्नुपर्ने बताउँछन् । मोतीविन्दु लगायत रोग लागेका त्यो उमेरका बालबालिकालाई तुरुन्तै उपचार नगर्ने हो भने अन्धोपन आउन सक्ने खतरा बढी रहन्छ । त्यसैले विशेषज्ञहरुका अनुसार ८ वर्ष नपुग्दै सबै बालबालिकाको आँखा परीक्षण गर्नुपर्छ । नेपालमा दृष्टि क्षमता कमजोर भएका तीन लाख ३० हजार बालबालिकाका आँखाको समस्या चश्मा प्रयोग गराएरै ठीक पार्न सकिने खालका छन् । तर उनीहरु अस्पताल सम्म नजाने समस्याले झन समस्या थप्दै गएको छ । संवेदनशील अंग आँखाको हेरचाह र उपचारमा ध्यान नर्पुयाउँदा नेपालमा आँखाका रोगी बढेका छन् । आधुनिक प्रबिधि र विद्युतीय साधनको बढ्दो प्रयोगले पनि बालबालिकाहरुको आँखा जोखिममा पर्दै गएको छ । यसप्रति अभिभावकहरु बेलैमा सचेत बन्न आवश्यक छ ।

 

LIVE TV