
जिल्ला विकास समिति हुम्लाले आव २०७३÷०७४ का लागि कुल रु आठ अर्ब ९० लाख १७ हजार ४०२ अनुमानित बजेट प्रस्ताव गरेको छ ।
जिल्ला परिषद् बैठकमा स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले सार्वजनिक गर्नुभएको प्रस्तावमा सडक आयोजना सञ्चालन गर्न रु दुई अर्ब ५२ करोड पाँच हजार र शिक्षा क्षेत्रमा रु एक अर्ब ६४ करोड तीन हजार ८०० विनियोजन गरिएको छ ।
त्यस्तै परिषद्ले कृषि र पर्यटन, जडीबुटी, जलस्रोत, सडक, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रको समूचित विकासमा जोड दिएको छ ।
कर्णाली करिडोर, हिल्सा–सिमिकोट सडकखण्डको विस्तार तथा जिल्लाका उत्तरी र दक्षिणी सडक निर्माण, सदरमुकाममा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुङ जलविद्युत् आयोजना जीर्ण भएकाले हेप्का खोला तथा ग्याग्रु दोजाम खोलामा पाँच मेगावाट क्षमताको विद्युत् आयोजना निर्माणका लागि अध्ययन सुरु गरिने भएको छ ।
त्यस्तै उत्तरी भेकमा पशुपालन र दक्षिणी भेकमा कृषि तथा जडीबुटीको उत्पादनमा जोड दिइएको छ । ‘एक घर ः एक बगैँचा’ अभियानअन्तर्गत स्याउ, ओखर, केराउ, सिमी, फापर, मह, चिनो, कागुनो, आलु उत्पादन गरिनेछ ।
तत्काल खाद्यान्न उपलब्ध गराउन माग
एकीकृत नेकपा (माओवादी) हुम्लाले लामो समयदेखिको खडेरीका कारण जिल्लामा खाद्य सङ्कट उत्पन्न भएको भन्दै तत्काल खाद्यान्न उपलब्ध गराउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । रासस