५ चैत्र २०७२, शुक्रबार

प्रधानमन्त्रीको सर्वदलीय बैठकमा दर्जन मात्र नेता सहभागी, सरकारमा सहभागी दलका नेता नै अनुपस्थित, चीन भ्रमणलाई राष्ट्रियहितमा केन्द्रीत गर्न सुझाव

sarbadaliya-meeting

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा जम्मा एक दर्जन मात्र नेता सहभागी भएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका एजेण्डाबारे जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएको सर्वदलीय बैठकमा जम्मा एक दर्जन नेता मात्र सहभागी भएका हुन् ।

प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने ३१ दलका नेताहरुलाई निम्ता गरेकामा सरकारमा सहभागी दलका नेता नै बैठकमा उपस्थित भएनन् । बैठकमा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम, महासचिव कृष्णबहादुर महरासहितका एकीकृत नेकपा माओवादीका तीन जना नेता, राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, राप्रपा नेपालका दिलनाथ गिरी लगायतका १२ जना नेता मात्र सहभागी थिए । मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायतका सत्तारुढ दलका नेता बैठकमा अनुपस्थित रहे ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताको पनि बैठकमा उपस्थिति थिएन । नेताहरुको पातलो उपस्थितिका कारण बैठक एक घण्टा पनि नबसी टुंगिएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले चीनलाई ट्रान्जिटको रुपमा प्रयोग गर्ने तथा चीनसँगका विभिन्न नाका खोल्ने विषयलाई भ्रमणको एजेण्डा बनाइएको जानकारी दिएको र जवाफमा आफुहरुले  भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रीत गर्न सुझाव दिएको राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले संचारकर्मीहरुलाई बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रहीत विपरित कुनै सन्धि सम्झौता नगर्ने प्रष्ट पार्नुभएको थियो ।

 

LIVE TV